दीपबहादुर घर्ती
जाजरकोट, १५ बैशाख ।
हात भाँचिएर उपचारको लागी रुकुम चौरजहारी स्थित मानव विकास तथा सामुदायिक सेवा अस्पतालमा लगिएकी जाजरकोटकी एक बालिकाका उपचारका क्रममा ज्यान गएको छ । भेरीमालिका ११ मटेलाका अनिल शर्माकी डेढ बर्षिया छोरी अर्पना शर्माको सोमवार अस्पतालमै ज्यान गएको हो ।
गत ६ गते आफ्नै घरमा खेलिरहेको अवस्था एक्कासी लडेर वाँया हात भाँचिएकी ति बालिकालाई उपचारको लागी चौरजहारी लगिएको थियो । भोलीपल्ट ७ गते उनको भाँचिएको हातमा रड राखेर प्लाष्टर गरी सफल शल्यक्रिया भएको थियो ।
शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी बालिकालाई बैशाख ९ गतेको विहान घाउ सुकाउने भन्दै एन्टिवायोटिक सुई लगाईएको र उक्त सुई लगाएको केही समयमा नै बालिका बेहोस भएको आमा प्रमिला शर्माले बताउनुभयो । बालिका बेहोस भएपछि उनलाई भेन्टिलेटरमा राखेर कृत्रिम स्वास दिएर उपचार थालिएको अस्पतालले जनकारी दिएको थियो ।
बालिकाको स्वास्थ्यमा सुधार नआएपछि सोमवार अस्पतालले उनलाई मृत घोषणा गरेको हो । बालिकाका आफन्तले अस्पतालको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै क्षतिपुर्ती सहित कारवाहीको माग गरेका छन् । “ हात भाँचिएकी बालिकालाई अकै औषधी प्रयोग गरेर सुई लगाउँदा अस्पतालकै कारण मृत्यु भएको बालिकाका हजुरबुवा ज्ञानी प्रसाद शर्माले भन्नुभयो” घटनाको छानवीन गरि दोषीलाई कारवाही हुुनपर्छ ।
उनले सिक्दै गरेका प्रशिक्षार्थीले उल्टो औषधी प्रयोग गर्दा आफ्नी नातिनीको मृत्यु भएको जिकिर गर्नुभयो । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारवाही र उचित क्षतिपुर्ती नदिदा सम्म लास नबुझ्ने मृतकका आफन्तले बताएका छन् । सोमवार साढे तीन बजे बालिकालाई मृत घोषणा गरेपनि आफन्त अस्पताल गएका छैनन् ।
अस्पतालमा कार्यरत डा. कालेब कुमार बुढाले भने अस्पतालको लापरवाही नभएको दावी गर्नुभएको छ । उहाँले ९ गते विहान ६ बजे एम्पीकोल्क्सा नामक घाउ सुकाउने एन्टिवायोटिक दिएको तर बालिका साढे एक घण्टा पछि आमाको दुध खाँदा खाँदै सर्को परेर आमासयमा गएको दुध स्वास नलीमा गएर अड्किदा बालिका वेहोस भएको बताउनुभयो । यसपछि कृत्रिम स्वास दिएर भेन्टिलेटरमा राख्यौ तर बचाउन सकेनौ डा. बुढाले बताउनुभयो ।।