काठमाडौँ, १३ भदौ । चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरेको हो ।
संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उक्त व्यवस्थासहित सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णय गर्दै सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कच्ची सडकमा प्रमुख जिल्ला अधिकारीले अस्थायी रुट परमिट दिनसक्ने बताउनुभयो । नियमावलीको प्रस्तावित व्यवस्था अनुसार यात्रुवाहक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोकेमा चालकको लाइसेन्स ६ महिना रद्द र रुट परमिट खारेज हुने बताउनुभयो ।
यस्तै मालवाहक सवारीसाधनले यात्रु बोकेमा वा यात्रुवाहक सवारीले सामान बोकेमा चालक अनुमतिपत्र ६ महिना निलम्बन हुने बताउनुभयो ।