काठमाण्डौ, १३ बैशाख
सरकारले सबै सञ्चार गृहरुलाई उद्योग सरह मान्यता दिने भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारगृहहरुमा व्यवसायिकता र उद्यमशिलता बढ्दै गएकाले रोजगारी र कुल गार्हस्थ उत्पादनमा सहयोग पुगेको भन्दै सञ्चार माध्यमलाई पनि उद्योग सरह मान्यता दिने मन्त्रीस्तरीय निर्णय भएको जानकारी दिनुभयो ।
यो निर्णयलाई अब मन्त्रिपरिष्द् बैठकमा लैजाने पनि उहाँले बताउनुभयो । त्यस्तै सरकारले रेडियोहरुलाई पनि बर्गिकरण गर्ने तयारी गरेको छ । यस्तै सरकारले गतबर्षको भूकम्प र त्यसपछिको परकम्पको समयमा सुचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारमाध्यमको प्रसंसा पनि गरेको छ ।
चालु आर्थिक बर्षको नबिकरण दस्तुर पुरै मिनाहा तथा तिर्नुपर्ने रोयल्टीमा पनि ५० प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ । सञ्चार मन्त्रालयले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्ने गराउने निर्णय पनि गरेको छ । तर सञ्चारगृहको मापदण्ड निर्धारण गरेर मात्रै पत्रकारहरुको सेवा सुबिधाका बारेमा निर्णय गर्ने सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।।