धनिराम शर्मा ( ऋतुविचार )
तीजको दर खाने अस्वस्थ प्रतिस्पर्धा भैरहेका बेला लक्ष्मीपुरका महिलाहरुले भने स्वास्थ्य सन्देश दिन तीज प्रतियोगिता नै गरेका छन् । लक्ष्मीपुरका आमा समूहरुले स्वस्थ र स्मार्ट जीवन बनाउने सन्देश दिदै शनिबार प्रतिस्पर्धामा कस्सिए, प्रतिस्पर्धाले उनीहरुलाई दामत्य जीवन जिउने बारेमा थप बल मिलेको बताएका छन्, प्रतिस्पर्धामा कस्सिएकी सीता भुषालले प्रतियोगिताले आफूहरुलाइ थप बल दिएको बताईन्, छोरी मान्छेले खुलेर स्वास्थ्यका कुरा गर्न हुन्न भन्ने मान्यतालाई आफूहरुले तोड्दै गएको बताईन्, स्थानीय महिलाहरुले गाँउमा खुलेरै स्वस्थ्य सन्देश प्रवाह गरेको दावी गरिन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य संचार क्षमता र सहकार्यको पैरवी नेपाल परियोजनाको सहजीकरणमा लक्ष्मीपुरमा भएको सांगितिक कार्यक्रममा तीजको लयमा स्वास्थ्य सन्देश दिने चर्काे प्रतिस्पर्धा भयो । परिवार नियोजनका साधनको प्रयोगबाट दाम्पत्य जीवन सुखमय बनाउने सन्देश रहेको कार्यक्रममा यूवतीदेखि वृद्ध समेत सरिक भए । परिवार नियोजनका साधनको प्रयोगले जीवन कसरी सुखमय बन्छ भन्ने भावना गीतको माध्यमबाट सन्देश प्रवाह गरिएको थियो ।
परिवार नियोजनको विषयमा खुलेरै बोल्न नसक्ने महिलाहरु शनिबारको प्रतियोगितामा खुलेरै प्रतिस्पर्धा गरे । प्रतिस्पर्धाबाट कसले जीत्ने भन्ने होड नै चल्यो, उमेरले के पाका के काँचा सबै एकथलोमा सन्देशमूलक तीज गाउन प्रतिस्पर्धामा जुहारी नै खेले । सांस्कृतिक पक्षसंग जोडेर संस्थाले नव दम्पतीलाई सामुहिक भोज समेत गराउदै आएको छ । स्वास्थ्य संचार क्षमता र सहकार्य नेपाल परियोजनाको सुपरभाइजर दुर्गा थापाले सांस्कृतिक पक्षसंग जोडेर महिलाहरुमा स्वास्थ्य सन्देश दिदा निकै प्रभाव परेको बताईन्, शुरुमा स्वास्थ्यको विषयमा खुल्न डराउने महिलाहरु पछिल्लो चरणमा खुलेरै मनका कुरा राख्ने मात्र होइन स्वास्थ्य सन्देशवाहकको काम गरिरहेको थापाले बताईन् । मनोरन्जनसंगै स्वास्थ्य चेतना दिदाँ छिटो प्रभाव पर्ने गरेको उनको दावी छ ।
प्रतियोगितामा लक्ष्मीपुर गाविसका आमा समूहहरु प्रतिस्पर्धा गरेका थिए, प्रतियोगितामा सितल केसी लक्ष्मीपुर ३ प्रथम, कमला केसी लक्ष्मीपुर २ र बामा घिमिरे लक्ष्मीपुर ६ तृतिय भएका थिए भने सुनिता भण्डारीले सान्त्वना प्राप्त गरेकी थिइन् । लक्ष्मीपर गाविसका महिलाहरुको सहभागितामा भएको कार्यक्रममा परिवार नियोजन संघका अधिकृत किशोर आचार्य, लक्ष्मीपुर स्वास्थ्य चौकीका अनमी दुर्गा केसी, परियोजना प्रतिनिधि यम चौधरी, गाविसका प्राविधिक सहायक हेमराज पौडेल लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन स्थानीय अगुवा चामबहादुर विकले गरेका थिए ।










