काठमाडौं ८ भदौ ।  विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुनेगरी असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

क्वजिआइक्रिस्टल केन्द्रित भएर दक्षिण एसियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विट्जरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा यसअघि यो सम्मेलन भइसकेको छ।

पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो। यसमा सामान्य किसिमका क्रिस्टलभन्दा फरक किसिमले अणु संयोजन भएको हुन्छ। यसको उपयोग पछिल्लो समय खाना पकाउने भाँडामा भएको छ। पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ। बोलीचालीको भाषामा यस्ता भाँडालाई ननस्टिक भनिन्छ ।