दाङ, ८ भदौ ।
अस्थाई शिक्षक संघर्ष समिति दाङले मंगलवार जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिएको छ । समितिको केन्द्रिय कार्यक्रम अनुसार हिजो दाङ सहित देशैभरका जिल्ला शिक्षा कार्यालयहरुमा धर्ना दिएको समितिले जनाएको छ । मध्यान्ह १२ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो । लामो समय सम्म कार्यरत अस्थाई शिक्षकहरुलाई सरकारले परिक्षा गराउनुपर्ने, परिक्षामा सफल हुने शिक्षकलाई शिक्षककै रुपमा निरन्तर कार्यरत गराउने र असफल हुने शिक्षकहरुलाई राज्यले स्थाई शिक्षकहरुलाई दिदै आएको सेवा सुबिधा दिएर घर फर्काउनुपर्ने आफुहरुको माग रहेको संघर्ष समिति दाङका अध्यक्ष टंकप्रसाद ज्ञवालीले बताउनुभयो ।
यसैगरी २०६६ साल माघ २४ गते सर्वोच्च अदालतले गरेको निणर्य सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने, उमेर हदबन्दिले पाउनुपर्ने सेवा सुबिधाबाट बञ्चित हुनुपर्ने अवस्थाको सृजना हुने भएकाले जुन समयबाट शिक्षकले अस्थाईरुपमा पठनपाठन गराउन शुरु गरेको हो त्यहि मिति लागु गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालयले बिद्यालयमा सञ्चालन गरेको शिशु कक्षाका शिक्षकहरुले पाउदै आएको तलबलाई प्राथमिक तह समानको बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेको समितिको भनाई छ ।
यस्तै समितिले आगामी दिनहरुमा पनि आफ्ना मागहरु पुरा नभए थप आन्दोलका कार्यक्रमहरु गर्ने चेतावनी दिएको छ । समितिले यहि भदौ १२ गते शिक्षा मन्त्रालय र शिक्षा बिभागमा पनि धर्ना दिने कार्यक्रम रहेको जनाएको छ ।।