umlकाठमाडौँ, ८ भदौ ।  राष्ट्रिय राजनीतिका एजेन्डामा सामूहिक धारणा तय गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरूले कार्यगत एकता प्रयास सुरु गरेका छन् ।  संविधान कार्यान्वयन, राष्ट्रको सार्वभौमिकता, आसन्न निर्वाचन तथा समसामयिक राजनीतिक परिस्थितिमा साझा धारणा बनाउने गरी प्रतिपक्ष दलहरूले मोर्चाबन्दी सुरु गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पहलमा मङ्गलबार प्रतिपक्षी दलहरूबीच पहिलो बैठक सम्पन्न भएको छ ।  बैठकले राजनीतिक र समसामयिक विषयमा साझा धारणा तयार पार्न नियमित छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि ल्याएको कार्यतालिकाको बटमलाइन कार्यान्वयनका लागि प्रतिपक्ष दलहरूले सरकारलाई दबाब दिने पनि समझदारी गरेका छन् ।  एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान कार्यान्वयन राष्ट्रिय हित र सार्वभौमिकतामा सबै दलको एकै धारणा तयार पार्न छलफल पहल गरेको जानकारी दिनुभयो ।