
काठमाडौँ, ८ भदौ । स्थानीय तह पुनर्संरचना आयोगले अघि सारेको पुनर्संरचनाको प्रारम्भिक खाकामा प्रमुख राजनीतिक दलहरूले फरक–फरक धारणा बनाएका छन् । नेपाली काँग्रेसले आयोगको प्रारम्भिक प्रस्ताव अव्यावहारिक भएको औपचारिक निर्णय गरिसकेको छ । काँग्रेसले प्रस्तावित ५६५ एकाई बाट सङ्ख्या बढाउनुपर्ने माग गर्दै आएको छ ।
काँग्रेसको मागविपरीत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित एकाई बढी भएकाले घटाउन माग गरेको छ । नेकपा माओवादी केन्द्र र मधेसी मोर्चा पनि एकाई बढाउने पक्षमा छन् ।
पुनर्संचरनाका लागि संविधानले तोकेको आधारअनुसार आयोगको प्रारम्भिक प्रस्तावमा नेपाली काँग्रेसले सबैभन्दा बढी सक्रियता देखाएको छ । जिल्ला सभापति र केन्द्रीय सदस्यसँग धारणा बुझेको काँग्रेसले मङ्गलबार सांसदहरूको धारणा बुझेको हो । काँग्रेसले मङ्गलबार संसद् भवन नयाँबानेश्वरमा आयोगका पदाधिकारी र सांसदसँग पुनर्संरचनाबारे छलफल गरेको हो ।
छलफलमा आयोगले प्रस्ताव गरेको प्रारम्भिक एकाई कम भएको धारणा आएको सांसद डा. प्रकाशशरण महतले बताउनुभयो । महतले भन्नुभयो, ‘अहिले सात÷आठवटा गाविस जोडेर गाउँपालिका बनाउने गरी आएको प्रस्ताव व्यावहारिक छैन ।











