काठमाडौँ, ७ भदौ । गाविस सचिवहरूको संस्था गाविस सचिव हकहित संरक्षण केन्द्रले अब बन्ने गाउँपालिकामा कम्तीमा पनि १२० जना कर्मचारी चाहिने आकलन गरेको छ । केन्द्रले स्थानीय तह आफैँमा सरकार भएकाले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न गाउँपालिकामा न्यूनतम पाँचवटा वडा भए १२० जना र १२ वडा भए १९० जना कर्मचारी आवश्यक पर्ने खाका सार्वजनिक गरेको हो ।
स्थानीय तह पुनःसंरचना आयोगले गाउँपालिकामा न्यूनतम पाँचदेखि १२ वटासम्म वडा हुने मापदण्ड छ । आयोगले संविधानले दिएका जिम्मेवारी पूरा गर्न एउटा गाउँपालिकामा न्यूनतम ७० जना कर्मचारी आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाउँपालिकाको केन्द्रमा उपसचिव स्तरको कर्मचारीको नेतृत्वमा प्रत्येक वडामा वडा सचिव, सहयोगी र डाँक वितरक एक÷एकजना र वडा स्वास्थ्य चौकीमा हेल्थपोस्ट अधिकृत एक, अहेव दुई, अनमी दुई र सहयोगी एकजना रहनुपर्ने प्रारम्भिक खाका सार्वजनिक गरेको हो ।
त्यस्तै प्रशासनमा नायब सुब्बा र सहयोगी, आर्थिक प्रशासनमा लेखापाल र सहलेखापाल, नागरिकता, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखामा शाखा अधिकृत, नायब सुब्बा र खरिदार, ऊर्जा, वातावरण तथा सरसफाइ शाखामा इन्जिनियर, खरिदार र सहयोगी, न्याय, कानुन तथा फैसला कार्यान्वयन शाखामा शाखा अधिकृत र सहयोगी एक÷एकजना रहनुपर्ने खाका सार्वजनिक गरेको हो ।
