भुपेन
‘‘ दाई हामीलाई नेताहरुले यसरी किन भुलेका ? शहीद परिवारलाई किन यति सम्म हेला गरेका ?’’त्यो बहिनीको यस्तो प्रश्नले मलाई अल्मलाईदियो । केही समयका लागी म नाजवाफ भए । किनकी यस्तो प्रश्नको चितबुझदो जवाफ म संग थिएन । यस्ता प्रश्नको जवाफ दिन सिपालु म नेता पनि त थिइन । आफनै उबडखावड जिन्दगीका मोड हिडदा हिडदै थकाई लागेर बिसाइरहेको म धेरै समयपछि कुनै प्रशनले अल्मिलीए । अघिसम्म तछाडमछाड गर्दे शब्द ओकलीरहेका मेरा औंला निशब्द भइदिए । केही समय बितीसक्दा पनि जवाफ नपाएपछि उनले फेरी पनि प्रश्न गरीन ‘‘ हजुर पनि त त्यो आन्दोलनमा सहभागी भएको मान्छे । हामीले तपाईहरmसंग आशा नगरे को संग गर्ने ? किन चुपचाप बस्नुभएको दादा ?’’
चुपचाप हुनु र नाजवाफ हुनुको अन्तर कसरी बुझाउ म त्यो बैनिलाई । यस्तो गम्भिर प्रशनको साटोमा बेकारको अन्तरको कुरा बुझाउन थाले साध्य हुने वाला थिएन । उसको अपेक्षा एकातर्फ थियो मेरो मस्तिषकको तरंग एकातर्फ । म जाबो प्रश्नको भारले यसरी रन्थनिए उनि आफै शहिद परिवारकी छोरी हुन । मैले थाहा पाए सम्म उनले जन्मिदै भोगीन बा नुहुनुको पीडा । अरु जस्तो औंला समातिदिएर लखरलखर हिडन सिकाउने उमेरमा उनका बाउ भने देशका कुन कुनामा हो राइफलको ट्रिगर समाउदै थिए । र समाउदा समाउदै ढले एकदिन कहिल्ये नब्युझीने गरी । बाल्यकालमा सबैभन्दा पहिला मुखमा झुण्डिने शब्द हुन । आमा ! बाबा ! उनले पनि उच्चारण गरीन बाबा भनेर । तर त्यो शब्दको जवाफ कहिल्यै सुन्न पाइनन । शायद समयले आँखाभरी आँसु दिएर त्यो अबोध बालिकालाई जवाफ फर्कायो होला । मनले नमानी नमानी चित बुझाउन बाध्य भई होलिन उनि ।
आमाले पनि कहिल्यै तारा त कहिले कोशौ पारीको दृष्य देखाएर भनि होलिन ‘‘ नानी तिम्रा बा तिम्लाई गुुडिया , धेरै कापी कलम ल्यादिन उ त्यो डाँडा पारीको शहरमा जानु भा छ । तिमी नरोए छिटै आउनुहुन्छ । नरोउ है ’’तर आज पढाईको सिलसिलामा आमा भन्दा नि टाढा छन उनि । अब उनले बुझीसकेकी छन । कि त्यो डाँडा पारीको अपरिचीत शहरबाट उनको कोही आफन्त आउने वाला छैन । न त साथमा पीडाको भार साटिदिने आमा नै छिन । अब त उल्टै आमाका आँसु पनि पुछिदिनुपर्नेछ उसले । किनकी बुढेसकालमा सहारा दिने लौरो युवा कालमै गुमाएकी हुन आमाले पनि । त्यसैले त होला मलाई दाई सम्झेर यसरी अप्रत्याशीत रुपमा सोधेकी । म यस्तै केही सोच्दै थिए । उनको अर्को मेसेजले सोचाईको क्रम बिथोलीदियो ।‘ दादा हजुर पनि नबोल्ने हो अब ?’उनका प्रश्नले पिनजसरी क्रमैसंग भित्रभित्रै खोपीरहेछन । भन्न मन थियो ।
‘ बोल्न मन त धेरै छ नि नानु तिमी संग । तर बोल्नलाई उपर्युक्त शब्द छैनन नि त म संग । नेता जसरी झट जवाफ फर्कादिएर झनै तिम्रो चित के दुखाईदिनु ’’यद्यपी अब नबोलेर सुःख पाइनेवाला पनि थिएन । म आफैभित्र पनि एकप्रकारको उकुसमुकुस भइसकेको थियो । त्यसैले यति मात्र भने ‘‘ यो प्रश्नको जवाफ त म संग नि छैन नानु । जवाफ भेटेसी फर्काउछु ल । केयर गरी बस ’’यति सुनेसी उनी धन्यबाद टक्रयाएर बिदा भइन । तर अब सोच्दैछु जवाफ फर्काउनु मेरो बाध्यता मात्र नभई जिम्मेवारी पनि हो । यद्यपी मैले पनि त सुनेका छु विगतमा ति शब्द । कतै भनेको पनि होला ।‘‘ पार्टी भनेको बा आमा परिवार सबै हो ।त्यसैंले यो समय घरपरिवार छोडेर देशका बारेमा सोचौ ।आज देश बनाऔ , भोली परिवार बनाउला ।’’खोज्दै जाँदा कहींकतै घोषणापत्र र पत्रकार सम्मेलनहरुमा केही जवाफ अवश्य भेटिन्छन । जस्तै शहीद परिवारलाई यो दिइनेछ । त्यो दिइनेछ । काठमाण्डौमा नेताजी शहीद परिवारका लागी विनीयोजन गरिएको बजेट बारे सुनाउदा गर्वानुभुति गर्छन । राहत छुटयाइएको पैसाको कण्ठस्थै हिसाब हुन्छन उनिहरुसंग । तर जब जब यस्ता घोषणा पत्र र आश्वासन हरु बारे सुन्छु मेरो मनमा झनै प्रश्नहरु उम्लिन थाल्छन । सोध्न मन लाग्छ ।
नेताजी सुत्केरी अवस्थामा श्रीमानको हातको न्यानो स्पर्शको अभाव खेप्नुपरेको ति दिदिको भावनाको मुल्य कति होला ? बा ,आमा हामी भनि तपाईले कलिलो उमेरमै आफनो पछाडी हिडालेको त्यो कलिलो युवकको खाइलाग्दो बैंसको मुल्य कति होला ? बुढेसकालको लाठी मानिने छोरानै शहीद भएपछि एक्लै लखरलखर गरीहिडनुपर्ने ति वृद्धवृद्धाको पीडाका कति मुल्य पाइएला ? अनुहार नै देख्न नपाएपनि बाबालाई सम्झिरहने त्यो बैनीको पीडादायी त्यो सम्झनाको मुल्य तपाईको हिसाबकिताबमा कति सम्म पर्ला ? ल ठिक छ । तपाईलाई मुल्य तोक्ने छुट भइहाल्यो । तपाईले बाडने राहतका प्याकेज लग्न ति टुहुरा आइपुग्लान जिल्ला सदरमुकाम सम्म । तर साँच्चि ,हिजो त्यो बाउ ,आमा , छोरो ,छोरी …….. । ति सबैलाई त तपाईले घरबाटै खोसेर लग्नुभएको थियो नि । आज त्यही घरको आँग्न टेकन तपाईका खुटामा किन कामज्वरो आँउछ ?
ल छाडनुस राहत अनि पैसाका कुरा । मलाई तपाईसंग सोध्न मन लाग्यो तपाईको मुल्य कति हो ? शायद यस प्रशनको जवाफबारे एकछिन सोच्नुभयो भने तपाई नि नाजवाफ हुनुहुनेछ । र अझै नि नैतिकतामा बिर्को नलागेको भए बुझनुहुनेछ कि । मान्छेको मुल्य राहतका प्याकेजमा नभई भावना संग जोडिएको हुन्छ । मलाई लाग्दैन कोही यो राहत या अनुदानको आशा गरेर तपाई पछाडी जिवन सुम्पेको थियो । तपाईको एक आदेशमा नै प्राणआहुती दिन तयार भएको थियो । हो थिए होलान सपना । जस्तै सबै बराबर हुने । अन्यायले देश छाडने । समानताको आभास हुने । तपाईलाई याद हुनुपर्ने आफन्त गुमाएका ति मानिस रुँदा पनि हिजो आँसु लुकाई रुन्थे । सोचेहोलान तपाई हिडने बाटो चिप्लो नभईदिओस । कतै लडन नपरोस तपाई । कतिले तपाईकै अनुहार हेरी छोरा गुमाउनुको पिडा भुले । साँच्चि नेताज्यु , यि भावनाका अगाडी हिजोआज तपाईले राजधानि बाट घोषणा गर्ने राहत प्याकेजको आवाज निक्कै धमिलो गरी ति गाँउ बस्तीमा पुग्ने गर्छ । तपाईले घोषणा पत्र या यो संविधानमा लेखेका शब्दले ति भावनात्मक प्रशनको चितबुझदो जवाफ दिन सक्दैन । जवाफ त तपाईले दिन आवश्यक छ ।
त्यो पनि आफनै मुखबाट । त्यही गाँउ ,त्यही घरको आंगनमा उभिएर जहाँबाट सुनौलो भविष्यको आशा देखाई तपाईले हिडाल्नु भएको थियो । १५ हजार बढी ति मानिसलाई । र जवाफ दिनुभन्दा पहिला त धेरै सुन्न आवश्यक छ । १० औं वर्ष बगेका आँसुको आवाज । छोराको अभावमा बैसाखी टेक्दै हिडेका ति वृद्ध बा आमाका पैतलाको आवाज । महसुस गर्न आवश्यक छ शहीदको परिवार भई छटपटाउनुको पीडा । परिवारको अभावमा आफन्त खोजीहिडने ति युवायुवतिको आवाज । बल्ल तपाईले भेटनुहोला उपर्युक्त जवाफ । र साँच्ची त्यो बहिनीलाई चितबुझदो जवाफ दिन नसक्दा म भित्र पनि उकुुसमूकुस चलिरहेछ । म पनि मुक्ति चाहन्छु यस्ता प्रश्नहरुबाट । ल भन्नुस नेताजी के जवाफ फर्काउ ?
