bhukumpकाठमाडौँ, ३ भदौ  ।  भूकम्पपीडितलाई आवास निर्माणका लागि अनुदान रकम वितरण गर्न सरकारले विशेष अभियान सुरु गरेसँगै बुधबार साँझसम्ममा अतिप्रभावित ११ जिल्लाका ८० हजार९७० जना लाभग्राहीको खातामा  पहिलो किस्ताको ५० हजार रुपियाँ जम्मा भइसकेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिनुभयो ।

त्यस्तै अनुदान रकम सम्झौताका लागि तीन लाख ६१ हजार ९०६ जना पीडितसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो ।  अतिप्रभावित ११ जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकाको बुङ्मती तथा खोकनामा गरी पाँच लाख ३३ हजार १५५ जना लाभग्राहीको सूचीमा परेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै भूकम्पपीडितलाई डेढ महिनाभित्र अनुदान रकमको पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता व्यक्त गरेसँगै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक महिनाको विशेष अभियान सुरु गरिसकेको छ ।