janai purnimaकाठमाडौँ, २ भदौ ।   प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा बिहीबार मनाइँदैछ ।

  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।  मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन तागाधारीहरूले आफ्नो जनै ९यज्ञोपवित० फेर्छन् ।  यसका लागि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीति गरी बसिन्छ ।  यसरी व्रत बसेका तागाधारीहरूले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै यज्ञोपवित फेरिन्छ ।  ऋषिलाई तर्पण गर्ने भएकाले  यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।  मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।