काठमाण्डौ, ३२ साउन
नेपाल बिद्यार्थी संघको नयाँ नेतृत्वका लागि ८ जनाको उम्मेदवारी परेको छ । ११ औं महाधिवेशन अन्तरगत उम्मेद्वारी मनोनयन दर्ता गर्न तोकिएको समय मध्यान्ह १२ बजेसम्म अध्यक्षका लागि ८ जनाको उम्मेद्वारी परेको हो । महाधिवेशन उद्घाटनका समय गत साउन २३ गतेसम्म अध्यक्षका लागि १६ जना आकांक्षी देखिएपनि उम्मेद्वारी दर्ताको समयमा भने ८ जनाले मात्र नाम लेखाएका हुन् । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेन्द्रसिंह ठकुरी, बच्चन कार्की, आनन्द त्रिपाठी, लक्ष्मण आचार्य र पदमराज पन्तले पनि अध्यक्षमा आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष सहित केन्द्रीय सदस्यका लागि ६ सय भन्दा बढीको उम्मेद्वारी मनोनयन दर्ता भएको निर्वाचन समिति सदस्य कृष्ण पनेरुले जानकारी दिनुभयो । यद्यपी उम्मेद्वारको नामावली तयार पार्ने काम भईरहेको पनेरुले जानकारी दिनुभयो ।
नेविसंघको नयाँ बिधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुने प्रावधान छ । एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि भोली बिहानबाट निर्वाचन हुने छ । प्रतिनिधिको नामावलीमा देखिएको विवाद, संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच हिजो भएको ५ बुँदे सहमतिसँगै टुंगीएपछि निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढेको हो । निर्वाचन समितिले हिजो बिहान ८ बजेबाट सुरु गरेको मनोनयन दर्ताको समय आज मध्यान्नसम्मका लागि बढाएको थियो ।।
