ईन्द्रेणी संवाददाता
चितवन, साउन ३१ ।
एक वर्षेखि नेपालमा आधिकारिक रुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट सोमबारसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र संखुवासभाका गरी तीनजना बिरामीको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा उपचार गरिएकी एक महिलाको उक्त रोगबाट मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले चितवन मेडिकल कलेजमा उपचारका लागि पुगेकी एक महिलाको उक्त रोगका कारण मृत्यु भएको जानकारी दिनुभयो ।1471251705rog-final-final
यसअघि, धरानमा उपचार गरिएका संखुवासभा र भोजपुरका गरी दुईजना बिरामीको मृत्यु भएको पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत् इपिडिमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म कुल ७६ जनामा उक्त रोगको संक्रमण भएको पाइएको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएको शर्माले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी संक्रमण चितवनमा छ । चितवनमामात्रै यो वर्षको आजसम्म स्क्रब टाइफसबाट ६७ जनामा संक्रमण भएको पाइएको छ ।।