nbsकाठमाडौं, ३० साउन । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रतिनिधिको नामावली प्रकाशन भएसँगै नयाँ नेतृत्वको लागि चुनाव हुने पक्का भएको छ । विवादकै बिच महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको हो ।

महाधिवेशन उद्घाटन भएको १० दिनपछि आउँदो मंगलबार चुनाव हुने भएको छ । महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि बन्दसत्रनै नभइ चुनाव हुन लागेको हो । त्यसको लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार बेलुका तीन हजार ७ सय ६० प्रतिनिधिको नामावली प्रकाशन गरेको समितिले आइतबार दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ ।

त्यसपछि बेलुका साढे ७ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ । सोमबार बिहान १० बजेदेखि साढे १० बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दाबी संशोधन माग गर्ने समय दिइएको छ । यस्तै साढे ११ बजेपछि दोस्रो उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

साढे १२ देखि साढे ३ बजेभित्र उम्मेदवारको मनोनयन पत्रमा दाबी बिरोध गर्न समय दिइएको छ । दिउँसो १ बजेसम्म दाबी बिरोध उपर जाँचबुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन हुनेछ । उम्मेदवारीको नाम फिर्ता लिन चाहनेले साढे १ बजेदेखि साढे ५ बजेसम्ममा  लिन सक्नेछन् । त्यसपछि ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आउँदो मंगलबार पर्सि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान सकिए लगत्तै  मतगणना गरिनेछ । नेविसंघले प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधानको टुङ्गो लगाएको छ । जसअनुसार एक अध्यक्ष, १३ जना उपाध्यक्ष, तीन महामन्त्री, १६ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । नेविसङ्घको महाधिवेशन झन्डै १० वर्षपछि हुन लागेकाले हरेक पदमा आकाङ्क्षी धेरै देखिएका छन् ।

तर अनशन बसेका आधारमा ११ जिल्ला र केही क्याम्पसका प्रतिनिधिमा गरिएको भागबन्डा खारेज नगरे नेविसंघकै एउटा समूहले त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएको छ । यसअघि माउ पार्टीका नेता कृष्णप्रसाद सिटौला समूहलाई दुई सय २५ प्रतिनिधि र महेन्द्र शर्मा समुहलाई १ सय १० प्रतिनिधि दिने सहमति भएपछि विद्यार्थी नेता गणेश सापकोटा र रत्नहरि ढुंगेलले आमरण अनशन तोड्नुभएको थियो ।