साउन ३० अमेरिका । अमेरिकाको न्युयोर्कका एक अर्बपतिले आइसक्रिम चोरी गर्नेका बारेमा जानकारी दिने व्यक्तिलाई पाँच हजार डलर पाँच लाख ३४ हजार नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
किराना पसलका कारोबारी जोन क्याट्सइमातिडिसले ट्वीट गरेर आइसक्रिम चोरी गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।
चोरले आफ्नो स्टोरबाट आइसक्रिमको कार्टुन चोरेर लैजाने र ससाना पसलमा लगेर बेच्ने गरेको बताएका छन् । न्युयोर्कमा अहिले गर्मी छ । तातो हावा चलेको तथा तापक्रम पनि ४३ डिग्रीसम्म पुगेकाले आइसक्रिमको व्यापार बढेको छ । यही मौका छोपेर आफ्नो स्टोरबाट चोरले आइसक्रिम चोर्ने गरेको अर्बपति जोनले न्युयोर्क पोस्टलाई बताएका छन् ।
प्रहरीका अनुसार आइसक्रिमको कार्टुन चोरी भएको भन्दै अहिलेसम्म दुई सय ५० उजुरी परेका छन् । अहिलेसम्म एक सय ३० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ग्रिसटेड्स पसलका मालिक जोनले ट्वीट गरेर लुटेराले न्युयोर्क सुपरमार्केटलाई निकै ठूलो नोक्सानी र्पुयाएको उल्लेख गरेका छन् । यस्ता चोरलाई साना पसलेले उक्साउने गरेको उनको भनाई छ ।
