
को हुन त युवा ?
युवावस्था त्यो अवस्था हो, जसले वालकको सपना बुद्धहरुको सम्झनाको प्रतिनिधित्व गर्दछ । यसलाई न त छिटो प्राप्त गर्न सकिन्छ न त अडाएर अडयान सकिन्छ । वालक र उमेरदार दुवैको लागी पुग्न र अडिन चाहेको अवस्था नै युवा अवस्था हो । यो अवस्था नै मानिस शारिरीक र मानसिक रुपमा सबैभन्दा शक्तिशाली अवस्थामा रहेको हुन्छ । तर्सथ युवाहरुलाई भविष्यको कर्णाधार, वर्तमानका साझेदार र विकास तथा परिवर्तनका सम्वाहक पनि भन्छि । युवाहरुलाई शिक्षा अवसर तथा प्रेरणाका माध्यमबाट सहि मार्गमा नेतृत्वकर्ताको रुपमा स्थापित गर्न सकिन्छ । कुन उमेर समुहका मानिसहरुलाई युवा भन्ने सम्बन्धमा विश्वमा एउटै मापदण्ड रहेको पाइदैन । संयुक्त राष्ट्रसंघले १५ देखि २४ उमेर समुहलाई युवा मानेको छ भने नेपालको सन्र्दभमा युवा निति २०६६ का अनुसार १६ देखि ४० बर्षका उमेर समुहलाई मानेको छ । राजनितिक दलका युवा संगठनहरुले १६ देखि ४५ मानेका छन ।
भरभराउदो युवा जमात भएका विद्यार्थी संगठनहरुमा उमेरको हद नै तोकेको छैन । त्यसकारण नेपालको सन्र्दभमा कस्तो उम्मेर समुहलाई युवा मान्ने भन्ने कुरामा एक रुपता छैन । यसै सन्र्दभमा यसलाई घटाउनुपर्छ भन्ने बहस पनि नचलेको पनि हैन । तर राष्ट्रिय युवा निति २०६६ तयार गर्दा यसको बहस प्रसस्त मात्रामा भयो । यसमा पनि राजनिति युवा संगठनहरुको हावी भएका कारणले १६–४० नै मानेको छ । यो उमेर समुहलाई मान्ने हो भने आमा–बाबु र छोराछोरी नै युवाहरुको उमेर समुहमा नै पर्दछन । जस्तो कि नेपालीहरुको सरदर विवाह गर्ने उमेर समुह (कानुनी २० बर्ष माथी भएपनि) भनेको १७, १८ बर्षको हो । मानौ १७ बर्षमा विवाह भयो भने १८ बर्षमा पहिलो सन्तान जन्मिन्छ । आमा–बाबु ३६ बर्षको पुग्दा पहिलो सन्तान पनि १८ बर्ष पुगी सक्छ र दुवै पुस्ता युवाहरुको परिभाषा भित्र पर्ने गर्दछन र युवाहरुलाई प्राप्त हुने अवसरहरु पहिलो पुस्ताले प्राप्त गर्ने खतरा हुन्छ । तर २० पारी विवाहवरी अर्थात नेपालको प्रचलित कानुन अनुसार विवाह गर्ने चलनको पुर्णतह पालना भए मात्र यो समस्याको अन्त्य होला ।
युवाहरुका समस्याहरु
अहिले हाम्रो देशको अवस्थालाई वा समाजको अवस्थालाई हेर्ने हो भने युवाहरुको ठुलो जमात देश र समाजको मुल प्रवाहवाट टाढा हुदै गएको देखिन्छ । युवाहरुलाई हामीले विद्यार्थी काल देखि नै हेर्न सक्छौ । अधिकाँस युवा विद्यार्थीहरु निजि विद्यालयमा अध्ययन गर्ने शिलशिला देखी नै समाज देखि टाढा हुदै गएका छन । त्यसमा पनि विद्यालयमा पढ्ने युवा विद्यार्थीहरु पहिलो बेञ्चमा बस्नेहरु युरोप, अमेरिका ताकेका हुन्छन, दोश्रो बेन्चमा बस्नेहरु अरब, मलेसिया, दुबै र खाडी मुलुकहरु तिर र तेश्रो अथवा अन्तिम बेच्चमा बस्ने बिद्यार्थीहरु गाँउ, समाज र देशमा रहेका हुन्छन । यीनीहरु मध्य अधिकाँसहरुको काम भनेको समाजमा राजनिति गर्ने वा राजनिति गफ गरेर दिनहरु बित्ने गर्दछन अनि समाज र देशको विकास कसरी हुन्छ ? दक्ष जनशक्ति बाहिर जाँदा कसरी हुन्छ देश विकास ? अयसबारेमा पनि गम्भिर भएर सोच्नुपर्ने वेला आएको छ । त्यसैले त पहिलो र दोश्रो बेन्चमा बस्ने युवा तथा विद्यार्थीहरुलाई देश भित्र नै रोजगारीको अवसर कसरी प्रदान गर्ने भन्ने बारेमा सरकारले ठोस योजना ल्याएर काम गर्नुपर्ने हुन्छ ।
अहिले युवाहरुमा रहेको मुल समस्याको रुपमा रहेको बेरोजगारी समस्या नै हो जसका कारण हजारौ युवाहरु बेरोजगार भएर बसेका छन । ती युवाहरु बेरोजगार युवाहरु रोजगारीका कारण विदेशिएका छन । देश भित्र रहेका रोजगार विहिन भएका कारणले नै कुलतमा फसेका छन । घरमा काम छैन, समाजमा सहभागीत छैन, देशमा रोजगारीको अवसरहरु छैनन् । समाजका विभिन्न संरचनाहरुमा चासो र सहभागीता छैन, सहभागीता जनाउने चासो राख्ने गरेको पनि पाइदैन । युुवाहरुमा स्वभाविक रुपमा महत्वकाँक्षा धैरै हुन्छन ।
आवश्यकता धैरै छन तर पुरा हुदैन त्यसैले त कतिपय युवाहरु महत्वकाँक्षी आवश्यकताहरु पुरा गर्नका लागी गलत बाटो तिर लाग्ने गर्छन । अर्काको सिको गरेर गलत बाटो समात्न पुग्छन । जस्को परिणम स्वरुप जती पनि समाजमा अपराधिक क्रियाकलापहरु हुन्छन । त्यसमा युवाहरुको संलग्नता भएको देखिन्छ । यसले गर्दा युवाहरुको केहि जमात प्रत्यक्ष अप्रत्यक्ष रुपमा अपराधिक क्रियाकलापहरुमा लागेको छन । समाजमा जती पनि लागुपदार्थको सेवन देखि गलत क्रियाकलापहरुमा युवाहरुको संलग्नता देखिन्छ । जती पनि बलात्कारका घटनाहरु हुन्छन बढी मात्रामा युवाहरुको संलग्नता देखिन्छ । युवाहरु स्वयमंमा पनि सीप सिकी मेहनतका साथ काम गरेमा अगाडी बढ्न सकिन्छ भन्ने सोचका अभाव देखिन्छ ।
काम र मेहनतै नगरि तत्काल फाइदा प्राप्त गर्ने सोच पनि समस्याको रुपमा रहेको छ । अर्को तिर विश्मा भएको प्रविधिको विकासवाट उत्पादन मुलक प्रविधिको उपयोग गर्नुको साटो यसको दुरुपयोग गर्ने प्रवृति पनि हाम्रा समाजमा दिन प्रतिदिन झान्गिरहेको छ । यी सबै कारणले युवाहरुमा कुनै कुनै हिसावले सकारात्मक काममा भन्दा नकारात्मक कामले बढी प्रभाव पारेको देखिन्छ । त्यसैले त हाम्रो समाजमा भन्ने गरिन्छ “खाली दिमाग सैतानको घर” । दिमाग खाली भयो भने धैरै नकारात्मक कुराले घर गर्दै जान्छ र एउटा देश बनाउने युवाले आफ्नो जिन्दगी पनि बनाउन सकिरहेको हुदैन ।
यी कुराबाट जोगाउनु नै आज मुख्य चुनौतीको रुपमा रहेको छ । यसलाई सामना गर्नका लागी अर्थात यस्ता कुराहरुबाट युवाहरुलाई जोगाउनका लागी मुख्य रुपमा परिवार, समाज र राज्यको प्रमुख दायित्वको रुपमा रहेको छ । सहायक दायीत्वको रुपमा स्वंयं युवाहरुले पनि सोच्नुपर्ने देखिन्छ । नत्र भने भएको जनशक्ति बिदेश पलायन र देशमा भएको पनि बेरोजगार भएर कुलतमा लागे भने उनीहरुको भविष्य संगै देशको भविष्य पनि अन्धकारको बाटोमा जान सक्छ ।
युवालाई देश विकासमा कसरी ल्याउने ?
युवा भित्र भएको उर्जा र निराशालाई राज्यले समयमै चिन्न सकेन भने देश प्रगतिको बाटोमा जान सक्दैन । जुन देशले युवाको उर्जाको समुचित सदुपयोग र निराशाको समयमै व्यवस्थापन गर्न सक्छ त्यहि देश समृद्धिको दिशा तर्फ जान्छ । युवाहरुलाई साच्चै देश विकासमा लगाउने हो भने विभिन्न मोडेलहरुको विकास गरि काम गर्नुपर्दछ । त्यसका लागी समाजको वस्तुगत विश्लेषण गरि योजनाहरु निर्माण गर्नुपर्ने हुन्छ । यस्तो योजना भित्र युवाहरु प्रतिविम्वित हुनुपर्दछ ।
सामाजको अवस्था कस्तो हुने ? योजनाहरुको छनौट तथा निर्माण कसरी हुन्छ ? गाँउ समाजमा निर्माण भएको वा हुने विभिन्न उपभोक्ता समितिहरु, व्यवस्थापन समितिहरु, चलिरहेका चलन र संस्कारहरुमा युवाहरुको सहभागीताको लागी युवाहरुले नै बिषेश चासो दिएर लाग्नुपर्ने हुन्छ । जस्ले गर्दा विद्यमान श्रोत र साधनको सहि पहिचान र उपयोगको ढोका खुल्छ । यसका लागी युवाहरुले समाज विकासको सकारात्मक बाटो समाउनुपर्ने आवश्यकता छ । व्यक्तिबाट समाज, समाजबाट गाँउ बन्छ, गाँउ बनेमा जिल्ला बन्छ र जिल्ला बन्यो भने मात्र देश बन्न सक्छ त्यसैले देशको विकास गर्ने हो भने समाज विकासको क्रम देखि नै युवाहरुको सहभागीता गराउदै जानुपर्ने हुन्छ । समाजमा हुने विभिन्न खाले विकृतिहरु हटाउनका लागी युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ ।
निन्छ संसार भरि ११ वटा मात्र देशहरु हुदा अमेरिका भन्ने देश थिएन रे । तर आज हामी भन्दा कान्छो मुलुक अमेरिका कहाँ छ ? तर हामी कहाँ छौ ? हामीलाई १०४ बर्षिय राणाहरुले शासन गर्ने बेलामा, भारतमा ब्रिटिसहरुले शासन गर्थे रे । २००७ सालमा हामीले राणा शासनको अन्त्य गर्दा त्यसैको सेरोफेरोमा भारतले ब्रिटिसरुलाई आफ्नो देशबाट हटाएको थियो रे । ठिक त्यसैवेला चिनमा जापानिजहरुले शासन गर्थे रे, यसैको सेरोफेरामा चिनियाहरुले जापानिजहरुलाई लखेटेका थिए रे । तर आज हामी सँगसगै स्वतन्त्र भएका हाम्रा दुई ठुला छिमेकी देशहरु कहाँ छन ? हामी कहाँ छौ ? यस बिषयमा गम्भिर भएर समिक्षा गर्ने वा सोच्ने वेला आएको छ । के युवाहरु अव पाटी, चौताराहरु र चिया पसलहरुमा गफ मात्र गर्ने कि देश विकासमा लागी केहि गर्ने ? राज्यले ठोस निति ल्याएर यी युवाहरुलाई देश विकासमो मुल प्रवाहामा लगाउनुपर्ने वेला आएको छ । अमेरिका, भारत र चिन त्यसै वनेका हैनन् ।
युवाहरुको यसमा ठुलो लगानी रहेकाले नै बनेका हुन । देश विकासको अवसरमा धैरै युवा जनशक्ति छ । अवसहरहरु पनि थुप्रै रहेका छन । बर्षेनी करिव पाँच लाख युवाहरु बजारमा आउछन । खाली यीनीहरुलाई विकासका कुराहरुमा अवसरको खाँचो छ । लाखौ युवाहरु अवसरवाट बन्चित भएर देश विकासको मुल प्रवाहवाट बाहिरीएका छन । ति देशहको विकासमा पनि युवाहरुको सहभागीत विना सम्भव भएका हैनन् । दुवै, मलेसिया, कतार लगाएतका खाडी मुलुकहरु हेर्ने हो भने जसरी विकासको गतिमा जसरी अगाडी लम्कीरहेका छन । ती देशहरु बनाउनमा पनि नेपाली युवाहरुको ठुलो हात रहेको छ । अरु देश बनाउन सक्ने युवाहरुले हाम्रो देश बनाउन सक्दैनन र ? अवस्य सक्छन तीनीहरुलाई एउटै कुराको खाचो छ । योजनाबद्ध विकास निर्माण प्रक्रियमा युवाहरुको सकारात्मक र अर्थपुर्ण सहभागीता र देश भित्रै प्रशस्त रोजगारीको सृजना, यति भयो भने मात्र हाम्रो देशले बिकासले गति लिन सक्छ ।
त्यसका लागी अव युवाहरुलाई देश विकासको बाटोमा लगाउने हो भने राजनितिमा मात्र प्रयोग हैन राजनिति भनेको युवाहरुले बुझ्ने, निति निर्माण गर्ने र समाज रुपान्तर गर्ने तर्फ लम्काउनु पर्दछ । भन्निछ युवाहरु भनेका विद्रोहका बन्दुक मात्र हैनन् सृजनाका संवाहक पनि हुन । हाम्रो देशमा मा त के भयो भने ठुल्ठुला राजनितिक परिवर्तनमा युवाहरुको ठुलो योगदान रहयो । तर निति निर्माण र विकासमा सहभागीता भएन । खाली राजनितिमा बलको रुपमा मात्र प्रयोग भए तर निति निर्माण र कार्यन्वयन गर्दा युवाहरुको खोजी गरिएन । राजनिति दलहरुले चुनावहरुमा मसलको रुपमा मात्र प्रयोग गरियो ।
अवसर आउदा बन्चित गरियो युवाहरुलाई अनि कसरी आउछ नँया सोच ? अनि कसरी हुन्छ विकास ? उमेर काटेकाहरुले त न देश बनाउने सपना देख्न सक्छन न त आफ्नो घर परिवार वनाउने सपना ? खाली निदाएर मात्र सपना देख्न सक्छन सपना । सपना भनेको त निदाए देख्ने हैन निदाउन नदिने सपना पो देख्न सक्नुपर्छ । ननिदाएर निदाउन नदिने सपना देख्न सक्ने जमात भनेको त युवाहरुको मात्र हो । यसमा न त युवाहरु लाग्न सके न त हाम्रो देशको नितिले नै दियो । न त हाम्रा अभिभावकहरुले न त सरोकारवाला निकायहरुले । यस कुरामा अव पनि बेलेमा नसोच्ने हो भने हाम्रो देशले विकासको गति लिन सक्दैन । आगामी दिनहरुमा अहिलेको जस्तो युवा जमात पनि पाउन मुस्किल पर्ने देखिन्छ । अहिले युवाहरु लक्षित कतिपय कार्यक्रमहरु पहुँचका आधारमा आफ्ना नजिकका लाई बाड्ने प्रवृति देखिन्छ । अब यसलाई उल्टाएर केहि गरौ भन्ने उर्जाशील युवा समक्ष कार्यक्रमहरु लक्षित गरिनुपर्छ । जस्ले गर्दा अधिकतम प्रतिफल प्राप्त गर्न सकियोस ।
यति कुरा गरिरहदा हामीले खाली सरकारको वा राज्यको निति लाई मात्र पनि ताकिरहनु हुदैन । कतिपय विकासहरु त आफै पनि भइरहेका छन भएका छन । यसका लागी हाम्रो समाजलाई हेरियो भने पनि देख्न सकिन्छ । समाज आफनै गतिले चलिरहेको छ । कतिपय निति नियमहरु पनि आफै बनिरहेका छन । समाजको रिती, रिवाज, कला, संस्कृति, चाल चलनहरु र संस्कारहरु त्यसैमा आधारित रहेर विकासमा गतिहरु आफ्नै तरिकाले अघि बढिरहेका छन । त्यसमा युवाहरुको हस्तक्षेपकारी सहभागीत खै ? स्वंय युवाहरुले सोच्नुपर्ने बेला पनि आएको छ । खाली युवाहरु महत्वकाँक्षी कुराहरु मात्र मनमा राखेर हिड्नु हुदैन । ती महत्वकाँक्षी कुराहरु पुरा गर्नका लागी पनि युवाहरु आफै लाग्नुपर्ने हुन्छ । अहिलेको केहि प्रविधिको सहि सदुपयोग नगर्दा पनि युवाहरु बिग्रिएको देखिन्छ । तिनिहरुलाई पनि सहि सदुपयोग गरेर समाज रुपान्तरको बाटोमा लाग्नुपर्ने हुन्छ ।
सारांश
यसरी युवाहरुको परिभाषा, युवाहरुका समस्या र युवाहरुलाई देश किासको मुल प्रवाहमा ल्याउनका लागी बिशेष गरि सरकार प्रष्ट नितिगत हिसावले योजनाबद्ध तकिाले ध्यान दिनुपर्ने देखिन्छ । यस हिसावले हेर्दा सरकारले पनि युवाहरुका लागी केहि काम गर्ने सोचका साथ अगाडि बढेको देखिन्छ । यसको ज्वलन्त उदाहरणको रुपममा युवा तथा खेलकुद मन्त्रालय मार्फत युवाहरुको हितका लागी कामको सुरुवात गरेको छ । यसैको मातहतमा राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद यीनीहरुको मातहतमा क्षेत्र र जिल्लागत संरचनाहरु निर्माण र यसका पदाधिकारीकोहरुको व्यवस्था सहित कामको सुरुवात । नितिगत हिसावले राष्ट्रिय युवा निति २०६६ को निर्माण गरेको छ । यसले पनि राज्यले युवाहरुका लागी केहि गर्न खोजेको देखिन्छ । तर यतिले मात्र प्रयाप्त देखिदैन ।
यी संरचनाहरुलाई राजनितिक हस्तक्षेपबाट मुक्त बनाइ निश्पक्ष र स्वतन्त्र रुपमा काम गर्ने वातावरणको सृजना गर्नुपर्ने हुन्छ । बनेको नितिहरुको व्यवहारिक कार्यन्वयन र अझै ठोस नितिहरुको निर्माण गरि स्थानिय तहदेखी केन्द्रिय तहसम्म अर्थपुर्ण युवा सहभागीताको ग्यारेण्टी गरिनुपर्दछ । यसलाई खाली राज्यलले मात्र भन्दा पनि राज्य सञ्चालनका मेरुदण्डका रुपमा रहेका राजनितिक दलहरुको पनि युवाहरुका लागी स्पष्ट बनाएर लाग्नुपर्ने देखिन्छ । दलहरुले युवाहरुलाई खाली आफ्ने स्वार्थ सिद्ध गर्नका लागी वा राजनितिक परिवर्तनका लागी मात्र युवाहरुलाई प्रयोग गर्ने किन निति निर्माणको तहसम्म पनि अर्थपुर्ण युवा सहभागीत बढाउने भन्ने कुरामा बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यसका लागी पनि युवाहरुको उमेर समुहलाई परिमार्जन गरि केहि गरौ भन्ने सोच र गर्न सक्ने उमेर समुहका युवाहरुलाई समाज परिवर्तनको सहि मार्गमा सहभागीत बढाउनुपर्ने देखिन्छ । यसका लागी नँया सोचका साथ थप निति ल्याउनुपर्ने देखिन्छ । नत्र भने उही पुरानै ढर्रामा युवाहरुलाई प्रयोग मात्र गर्ने सहभागीता नगराउने हो भने देश विकासले अग्रता लिन सक्दैन । हाम्रो गाँउ समाज र युवाहरुले पनि खाली सरकार, राज्य र राजनितिक दलहरु तिर मात्र औला देखाउने आफुले केहि गर्न नसक्ने हो भने पनि युवा सहभागीता सहितको देश विकास अगाडी बढ्न सक्दैन । युवाहरु पनि देश विकासमा चासोका साथ लाग्नुपर्ने देखिन्छ । युवाहरुका हक, अधिकार र कल्याणका लागी बनेको संरचनाहरुले पनि यसमा योजनावद्ध कामको कार्ययोजना सहित अगाडी आउनुपर्ने देखिन्छ ।
युवाहरुका विभिन्न रोजगारीका अवसरहरु होलान, चाहनाहरु होलान तिनिहरुलाई मोडलको रुपमा विकास गरि क्षेत्रगत तथा युवाहरुको इच्छा, चाहना र आवश्यकताहरुको पहिचान, विश्लेषण गरि देश विकासमो अभियानमा व्यस्त गराउदा नै देश विकासमा युवाहरुको भुमिका बढाउन सकिन्छ । युवाहरुको भुमिकाले नै देश विकास सम्भव छ । केहि गरौ भन्ने युवाहरु देश बाहिर अनि केहि गरौ भन्ने भावना र जाँगर गइसकेका उमेर समुहका मान्छेहरुबाट देश विकास लगभग असम्भव नै छ । त्यसैले बालापनको सपना र बृद्धहरुको सम्झनालाई बिश्लेषण गरेर युवाहरुको नै देश विकासमा मुख्य भुमिका हुनुपर्दछ । हामी सबैको चाहना समृद्ध नेपालको हो । हामी विगतमा समृद्ध थियौ । बिचको कालखण्डमा हाम्रा राज्य सञ्चालनका औजारहरुमा खिया लागेर बसेकाले हामी अगाडी बढ्न सकेनौ । अब समयमै हामीले औजारमा लागेका खियाहरुलाई सफा गर्नु जरुरी छ । यसका लागी जीवनको सबैभन्दा उर्जाशील र सम्भावना बोकेका युवाहरुलाई उनीहरुको क्षमता दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य सञ्चालनका तहहरुमा तथा विकास निर्माणका प्रक्रियाहरुमा उनीहरुको अर्थपुर्ण सहभागीतालाई सुनिश्चि गरी समृद्ध नेपालको डिजाइन गर्नु जरुरी छ ।











