काठमडौ २२ साउन । महिलाका हक अधिकार स्थापित गर्ने र विभिन्न कारणले हिंसामा परेका महिलालाई न्याय दिलाउने जिम्मा पाएको राष्ट्रिय महिला आयोग अहिले आफ्नै आन्तरिक समस्याले थला परेको छ । नयाँ संविधान जारी भएसँगै संवैधानिक अधिकार प्राप्त गरेको आयोग हरेक साधन स्रोतले सम्पन्न हुनुको सट्टा केही समययता एकपछि अर्को समस्याले हलचल नै गर्न नसक्ने भएको छ ।
अध्यक्षसहित पाँच जना पदाधिकारी हुनुपर्ने आयोगमा विगत पाँच महिनादेखि एक जना पदाधिकारीको भरमा चल्नुपर्ने समस्या एकातिर छ भने आयोगको सचिवालयका लागि तत्काल उपयुक्त ठाउँमा भवन खोजेर सार्नुपर्ने समस्या अर्कोतिर छ । यही बेला आयोगमा करारमा रहेका कर्मचारी पुनः बहालीको माग गर्दै आन्दोलरत छन् ।
हाल राष्ट्रिय समाचार समिति ( रास ) को घरमा रहँदै आएको आयोगलाई राससले छिटो खाली गर्न ताकेता गरेपछि आयोगका लागि तत्काल उपयुक्त भवन खोज्नुपर्न भएको छ । आयोगका कार्यबाहक अध्यक्ष भगवती घिमिरेले महिला हत्या, हिंसा, बलात्कारलगायत महिला हिंसाका घटना दिनहुँ सार्वजनिक हुँदासमेत आयोगको आन्तरिक समस्याले त्यस्ता घटनाको सन्दर्भमा बुभ्mनसमेत नसकेको स्वीकार गर्नुभयो ।











