काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

सामुदायिक विद्यालयमध्ये पनि कुनैमा सात हजारभन्दा बढी विद्यार्थी पढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकभर २७ हजार १० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये १३ हजार ७३६ मा अझै पनि सयभन्दा कम विद्यार्थी छन् । यो भनेको कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ । यो विद्यालयमा आठ हजार २३९ विद्यार्थी अध्ययनरत छन् । धेरै विद्यार्थी अध्ययनरत १० सामुदायिक विद्यालयमध्ये रुपन्देही जिल्लामा मात्रै चार वटा रहेका छन् । त्यस्तै काठमाडौँका दुई तथा धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा एकरएक वटा विद्यालय छन्, जहाँ चार हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

तथ्याङ्क अनुसार सयदेखि पाँच सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १० हजार ८६ वटा छन् । ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार ६७० वटा छन् । एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४६७ रहेका छन् ।

विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजनसमेत गर्न थालिएको छ । हालसम्म ६५० भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।