दाङ । घोराहीस्थित भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुनः शंकर गौतम निर्विरोध भएका छन् । नवौ अधिवेशनको कार्यक्रम अन्तर्गत आज सोमबार भएको उमेदवारको मनोनयन दर्ताको समयसीमाभित्र अध्यक्षमा वर्तमान अध्यक्ष गौतमको एकल उम्मेद्बारी परेको छ ।
२०५८ सालमा कोषाध्यक्षबाट भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यात्रा शुरु गरेका गौतम २०६४ सालदेखि निरन्तर अध्यक्ष छन् । संस्थाको आठौं कार्यकालको लागि आइतबार दिउँसो १२ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । अन्य ५ जना पदाधिकारीसहित ११ सदस्यीय कार्यसमितिको सवै पदमा पनि एक एक जनाको मात्रै उम्मेद्बारी परेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कानुनी सल्लाहकार एवं निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिएका छन् ।
नयाँ नेतृत्वको लागि आज भएको मनोनयन दर्ता कार्यक्रममा उपाध्यक्षका लागि जंगबहादुर जिसी, सचिवमा मिनराज लम्साल, सहसचिवमा शान्तराज अधिकारी र कोषाध्यक्षमा सुनिता आचार्यको मात्रै उम्मेद्बारी परेको छ ।
यसैगरी सदस्यहरुमा हरिप्रसाद रिजाल, शिवकुमार भण्डारी, शारदा न्यौपाने, गीता पोख्रेल, मुना पोख्रेल र रोमा जिसीको उम्मेद्बारी परेको निर्वाचन अधिकृत निर्मल गौतमले बताए ।
आज उम्मेद्बारी परेका मध्य उपाध्यक्ष जिसी पहिले पनि उपाध्यक्ष नै थिए। त्यस्तै सचिवमा उम्मेद्बारी दिएका लम्साल सहसचिव थिए भने सहसचिव शान्तराज अधिकारी कार्यसमिति सदस्य र कोषाध्यक्षमा उम्मेद्बारी दिएका आचार्य कार्यसमिति सदस्य थिए ।
उम्मेद्बारी दर्ता गरेकाहरुले भोलि मंगलवार बेलुकी ४ बजेसम्म उम्मेद्बारी फिर्ताको समय रहेको र त्यसपछि मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत गौतमले जानकारी दिए । संस्थाको शनिवार सम्पन्न २३ औ साधारणसभाले पुस १२ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।











