काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिनाको उपलब्धि सार्वजनिक गर्दै नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या तीन महिनामा दुई लाख वृद्धि गरेको बताएका छन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री खरेलले भने, “हुम्लाको खार्पुनाथ, सर्केगाड, अदानचुली र चङ्खेली गाउँपालिका र मनाङको ङिस्याङ गाउँपालिकामा पहिलो पटक फोरजी सेवा विस्तार भई ७४९ वटा स्थानीय तहमा पहुँच पुगेको छ ।”

मन्त्री खरेलका अनुसार छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाबमोजिम अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरणका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीका रूपमा तोकी दर्ता र नवीकरणलगायतका कार्य सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ । अनलाइन सञ्चार माध्यमको दर्ता र व्यवस्थापनका लागि छापाखाना तथा प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत भएको छ ।

त्यस्तै सार्वजनिक सेवा प्रसारण (नेपाल टेलिभिजन) बाट एनटिभी वल्र्ड च्यानलको शुभारम्भ गरिएको छ । स्व. पत्रकार सुरेश रजकलाई मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयमार्फत पत्रकार सहिद घोषणा गरिएको र स्व. रजककी श्रीमतीलाई मुद्रण विभागमा रोजगारी उपलब्ध गराइएको छ । लामो समय रोकिएको गोरखापत्र संस्थानको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत भएकोलगायत तीन महिनाको अवधिमा सरकारले ३० ओटा नयाँ काम गरेको मन्त्री खरेलले जानकारी दिए ।