काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत रहेका ६३ वर्षीय आलमको गएराति निधन भएको हो।
उनी एक महिनादेखि केएमसीमा भर्ना भएका थिए ।
उनी मिर्गौला र उच्च रक्तचापको बिरामी थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस ४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।
जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि उनलाई मस्तिष्काघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।
आलम तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २०५४ सालमा श्रम राज्यमन्त्री भएका थिए।
२०५५ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आलम वन राज्यमन्त्री भएका थिए। २०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका थिए। त्यसपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री भएका थिए । त्यस्तै प्रचण्ड नेतृत्वको सरकार ढलेर माधवकुमार नेपाल नेतृत्वमा बनेको सरकारमा आलम श्रम तथा यातायात मन्त्री बनेका थिए।











