काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सदस्यता नवीकरण रोक्दै सक्रिय राजनीति गर्ने बाटो बन्द गरेपछि पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी ११ औँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अगाडि सार्ने निष्कर्षमा पुगेकी छिन् ।

अध्यक्ष ओलीले आफूलाई मुख्य प्रतिस्पर्धी ठानेर सदस्यता नवीकरणमा अवरोध गरेको मानेकी भण्डारीले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउन थालेकी हुन् । आगामी २७–२९ मंसिरमा काठमाडौंमा एमाले महाधिवेशन हुँदै छ । पाँच दिनअघि निवासमा भेटेका पोखरेललाई उनले ओलीलाई टक्कर दिने गरी तयारी गर्न सुझाव दिएकी थिइन् ।

एमालेका एक पदाधिकारीका अनुसार भण्डारीले पोखरेललाई अध्यक्ष पदका लागि तयारी गर्न सुझाउँदै आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने आश्वासनसमेत दिएकी छिन् । उनका अनुसार १५ कात्तिकको केन्द्रीय सचिवालय बैठकपछि ओलीसँग भएको टेलिफोन संवाद सकारात्मक नदेखिएपछि भण्डारीले वैकल्पिक गृहकार्य थालेकी हुन् ।

ओलीको चेतावनी : समानान्तर गतिविधि सञ्चालन गरे कारबाही
एमाले अध्यक्ष केपी ओलीले आसन्न एघारौँ महाधिवेशनलाई चुनौती दिने गरी समानान्तर गतिविधि सञ्चालन गर्नेमाथि कारबाही हुने चेतावनी दिएका छन् । आफू अत्यन्तै लचिलो र सहनशील भए पनि पार्टी सिध्याउन खोजे कडा जवाफ दिन बाध्य हुने ओलीको चेतावनी छ । अनुशासनका नाममा इतर समूहका नेतामाथि दबाब बनाएर ओलीले सर्वसम्मत नेतृत्व कब्जा गर्ने सन्देश प्रवाह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा आफूलाई चुनौती दिन खोजिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहितका नेताहरूको गतिविधितर्फ लक्षित गर्दै ओलीले शुक्रबार यस्तो चेतावनी दिएका हुन् नयाँ पत्रिकामा खबर छ। पार्टीले संसद् पुनर्स्थापनाको पक्षमा उभिँदै प्रतिक्रियावादविरुद्ध लड्नुपर्ने समयमा कतिपय नेताहरू आफ्नै संगठनविरुद्ध गतिविधिमा लागेको ओलीको आरोप छ ।