काठमाडौं । हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । विशेष गरी पर्यटकीय क्षेत्रमा मुस्ताङ र मनाङमा भारी वर्षाका साथै हिमपात भएको छ । हिन्द तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा विहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।

हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बिहानै कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको हो ।

मोटरसाइकलमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताए । हिमपातले मुक्तिनाथ मन्दिरलाई छपक्कै छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे छ । मन्दिरमा रहेको १०८ धारा, कुण्ड लगायतका क्षेत्र हिउँले छोपेको छ ।

त्यस्तै मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।