दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराए । उनले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए ।
मुख्यमन्त्री आचार्यले नेपाल बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेको र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताए ।
उनले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमहरूलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिए । संघीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्यको आशा गरिएको उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेको जानकारी दिदै चालू आर्थिक बर्षको लागि बिनियोजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराए । त्यस भित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रमहरूमा कटौती नगर्ने नीति लिइएको स्पष्ट पारे ।











