जुम्ला । विविध कारणले दुई वर्षअघि बन्द भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलाइसिस सेवा सञ्चालन पुनः सञ्चालनमा आएको छ ।
डायलासिस सेवा सुचारु भएसँगै अब मिर्गौलाका बिरामीले महँगो खर्च गरेर उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताबाट राहत पाउने अपेक्षा गरिएको छ ।
कर्णाली प्रतिष्ठानले आइतवार छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका–२ की जीरकला बियारको डायलाइसिस गरेर सेवाको पुनः सुचारु गरेको जनाएको छ । डायलाइसिस सेवा नहुँदा महँगो जहाज भाडा तिरेर नेपालगन्ज, काठमाडौं पुग्नुपर्ने बाध्यता थियो ।
प्रतिष्ठानका उपकुलपति डा. पूजनकुमार रोकायाले अब सेवा नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिष्ठानमा हाल ४ वटा डायलाइसिस मेसिन तयारी अवस्थामा छन्, जसमध्ये दुईवटा सञ्चालनमा ल्याएर सेवा सुरु गरिएको उनले जानकारी दिए । उपकरण र जनशक्ति अभाव देखाउदै दुई वर्षअघि प्रतिष्ठानले डायलाइसिस बन्द गरेको थियो ।
