फिदिम । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ।

बेलिब्रिज भत्किँदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्। गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो। दोस्रो पटक पुनः बेलिब्रिज हाल्न सङ्घीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो। बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए।​