काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन शुरु हुन लागेको हो ।
दुवै सदनको अधिवेशनको पहिलो बैठक आज १ बजे शुरु हुनेछ । अधिवेशनको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।
शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।
यस्तै यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ ।











