काठमाडौँ । माओवादीको स्थायी समिति बैठकमा केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जानुपर्ने माग उठेको छ । केही नेताले पार्टीमा नेतृत्व हस्तान्तरण गर्नपर्ने सवाल पनि उठाएका छन् । अध्यक्ष पुष्पकमल दाहालले भने सरकारबाट बाहिरिनेबित्तिकै जिम्मेवारी छाड्दा गलत सन्देश जाने दाबी गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समिति सदस्यलाई नेतृत्वलगायतका विषयमा खुलेर धारणा राख्न भनेका थिए । त्यसपछि मौखिक र लिखित धारणा राख्दै नेताहरूले दाहालको चर्को आलोचना गरेका थिए । एक नेताका अनुसार उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहालले एकलौटी रूपमा पार्टी चलाएको, पार्टीभित्र नेताहरूबीच द्वन्द्व बढाएको लिखित आरोप लगाएका थिए । उनले केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशन तोक्नुपर्ने बताएका थिए ।
दाहालको संयोजकत्वमा आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्नुपर्ने शर्माको प्रस्ताव थियो । उनले नेतृत्व हस्तान्तरणको विषय पनि उठाएका थिए । अध्यक्ष दाहालले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्नुपर्ने शर्माको प्रस्ताव थियो । ‘हालका पदाधिकारीहरूले सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्नुपर्छ । तेस्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ उनले भनेका थिए ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने अध्यक्ष दाहालको विकल्प खोज्नुपर्ने बेला नभएको बताएका थिए । उनकै नेतृत्वमा पार्टी बलियो बनाउनुपर्ने उनको धारणा थियो । श्रेष्ठले पार्टी निर्माणको दिशामा नीति केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताए । अध्यक्ष दाहाल आफैंले पनि तत्काल नेतृत्व हस्तान्तरण नगर्ने अभिव्यक्ति दिएका छन् । ‘पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा मेरो मनमा आइरहेको छ । तर सरकारबाट बाहिरिनेबित्तिकै छाड्नु ठीक हुँदैन भन्ने लागेको छ,’ उनको भनाइ थियो, ‘पार्टी बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।’
अर्का उपमहासचिव वर्षमान पुनले पार्टीका सबै काम पारदर्शी हुनुपर्ने बताए । उनले पार्टी खुला राजनीतिमा आइसकेपछि नेताहरूको व्यवहार पनि पारदर्शी हुनुपर्ने धारणा राखे । नेताहरू स्पष्ट भए सबै अन्तरविरोध समाधान हुने उनको भनाइ थियो । ‘पार्टीमा अविश्वास छ भनेर खुले राखौं,’ उनले भनेका थिए, ‘नेताहरूले आफ्नो आयव्यय खुला रूपमा देखाउनुपर्छ । कसैको घर छ, अरु क्षेत्रमा लगानी छ भने भनौं । गाडी हुनेले मेरै हो भनेर चढौं । लुकाउनुपर्ने आवश्यकता छैन ।’ उनले जनतालाई समृद्धि बनाउने मुद्दा लिएका नेताहरूले व्यक्तिगत आर्थिक गतिविधि लुकाउन जरुरी नभएको बताए । ‘पार्टीभित्र अर्थराजनीति विकास गरेर जाऔं । खुलस्त नीति बनाएर पारदर्शी ढंगले जाऔं,’ पुनले भनेका थिए ।
सचिव राम कार्कीले सरकारबाट समाजवादको आधार कति तयार भयो भन्ने प्रश्न गरे । ‘सरकारमार्फत समाजवाद ल्याउने कुराको समीक्षा हुनुपर्छ । पार्टीको हालत के भयो रु’ उनको भनाइ थियो, ‘यसको निर्मम समीक्षा हुनुपर्छ । कम्युनिस्ट आन्दोलन पंक्ति कति तयार गर्यौं रु’ उनले कम्युनिस्ट पार्टीमा यही नै नेतृत्वमा हुुनुपर्ने भनेर ‘अपरिहार्य’ विधि नभएको टिप्पणी गरे आजको कान्तिपुरमा खबर छ । अर्का सचिव गणेश साहले सरकारमा गएर कृषि, उद्योगबाट उत्पादन नबढाए समाजवाद आउन नसक्ने धारणा राखे । उनले जलवायु परिवर्तनको असरलाई राजनीतिक मुद्दा बनाएर जानुपर्ने धारणा राखे । अर्का सचिव देवेन्द्र पौडेलले विगतको गठबन्धनबाट शिक्षा लिएर जनतासमक्ष कार्यक्रम लिएर जानुपर्ने बताए ।











