नेपालगञ्ज । नेपालगन्जको भेरी अस्पतालमा अब सेवाग्राहीले अनलाइनबाटै टिकेट काट्न सक्ने भएका छन् । अस्पतालले गएको शुक्रवारदेखिन पहिलो पटक अनलाइनबाटै टिकट काट्न पाउने व्यवस्था गरेको हो ।

अस्पतालमा सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि अस्पतालले अनलाइन टिकेट सेवाको सुरुआत गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।

“अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरू टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ ।” मेसु थापाले भने, “घण्टौँ सम्मको लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि अनलाइन टिकेट सेवा सुरुआत गरेका छौँ, अहिले सुरुमा परीक्षणका लागि १०० टिकट काट्न मिल्ने गरी व्यवस्था गरेका छौँ ।’ निकट भविष्यमा यसको प्रभावकारिता हेरेर सोही अनुसार सङ्ख्यामा वृद्धि गरिने थापाले बताए ।

सेवाग्राहीले चेकजाँच गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित रोगसहितका विभाग र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्क बापत ३० रुपियाँ अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चालेको मिति र समयमा टिकट बुक गर्न पाउनेछन् ।

हाल अस्पतालले ओपिडी टिकट काट्नका लागि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि १२ः३० बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्मको समय छुट्याएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला रहनेछ ।

अनलाइनट टिकट काट्नका लागि अस्पतालको वेबसाइट www.bheri.hospital.gov.np मा गएर  https://bheri.opdticket.com/  मा गई त्यहाँ रहेको फाराममा आफ्नो विवरण भरी यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।