चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन भएका सुरक्षाकर्मी तथा स्थानीय उद्धार कार्यमा खटिँदै । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस

इन्द्रेणी संवाददाता
चितवन । विहान साढे ३ बजेतिर पहिरोले वगाएर त्रिशुली नदीमा वेपत्ता दुई वटा यात्रुवहाक बस र त्यसमा सवार यात्रुहरुको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेपनि अहिलेसम्म अवस्था थाहा हुन सकेको छैन । विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली वेपत्ता बस र यात्रुहरुको खोजीमा खटिएको छ । तर पनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

अविरल वर्षातका कारण आएको पहिरोको कारण आज विहान चितवन भरतपुर महानगरपालिका २९ सिमलतालबाट दुई वटा यात्रुसहतिका बस बगेर त्रिशुली नदीमा बेपत्ता भएका थिए । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स बस र वीरगञ्जबाट काठामाडौं आउँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको बस त्रिशूलीमा खसेको थियो ।

बस र यात्रुको अवस्था पत्ता लाग्न नसकेतापनि बसको चलानी अनुसार यात्रुको पहिचान खुलेको चितवन प्रहरीले जनाएको छ । जसअनुसार काठमाडौं गौर बसमा सवार नन्दूसहित ५ जना, अमृतासहित २ जना, हरिश्चन्द्रसहित २ जना, शम्भु नवीनसहित ४ जना, राजु पट्टेल, नन्दन दास, प्रिन्स जैसवाल, सिकेन्द्र, वकिल खाँ, ओम, राजकिशोर, शैलेन्द्र, फिरोज राहुमिया, बसधनी राकेश जैसवाल, किशोर कुमार चौधरी चालकसँगै बसका सहचालक र नाम थर नखुलेका एक जना रहेको प्रहरीले जनाएको छ ।

यसैगरी वीरगन्ज काठमाडौं बसमा सवार जाहिर महत्तो, राजेन्द्र केसी, अरविन दुवे, हरिन्द्र पण्डित, प्रमान्द्र, हर्दनारायण राउतसहित तीन जना, सालिन मियासहित २ जना, रैजुल आलमसहित दुई जना, कुलदीपसहित दुई जना, अन्सारीसहित दुई जना भारतीय नागरिक, भारतीय नागरिक सन्तोष ठाकुर, सुरेन्द्र शाहा, आदित मिया, सुनिल, सहनुवाज आलमलगायत नाम नखुलेका सहचालक र प्रकाशसमेत दुई जना रहेको बताइएको छ ।

तीन जना भने बसको झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ । ती बसमा करीव ६५ यात्रु भएको अनुमान गरिएको छ ।