सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकै दिन दुई हजार बिरुवा रोपिएको छ । सामुदायिक बनको खाली जमिनमा शुक्रबार औषधिय गुण भएका र आर्थिक रुपले महत्व रहेका बिरुवा रोपिएको हो ।

छत्रेश्वरी ४ स्थित बेतिनी सामुदायिक बन समुहको करिव ३ हेक्टर खाली जमिनमा वृक्षारोपण गरिएको सब डिभिजन बन कार्यालय छत्रेश्वारीले जानकारी दियो । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले काउलो र रिठाको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै उनले वनको संरक्षण र उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष बुढाथोकीले सामुदायिक वनको खाली क्षेत्रमा औषधिय गुण भएका तथा आर्थिक महत्व बोकेका वनस्पति र जडिबुटी हुर्काएर मनग्य आर्थिक लाभ प्राप्त गर्न सकिने बताए ।

छत्रेश्वरी गाउँपालिकामा रहेका सामुदायिक बनका खाली जमिनमा यहि साउनभित्र ११ हजार बिरुवा रोप्ने लक्ष्य रहेको सब डिभिजन वन कार्यालय छत्रेश्वरिका प्राविधिक वन रक्षक देब बहादुर केसीले जानकारी दिए । जस अनुसार शुक्रबार बेतिनी सामुदायिक बन समुहको खण्ड (ख) जुगेपानी र दर्दरे क्षेत्रमा रिठा १२००, तेजपात ४०० र बन काउलोका ३०० बिरुवा रोपिएको उनले जनाए । उनका अनुसार छत्रेश्वरिमा गत बर्ष ६५०० बढी बिरुवा रोपिएको थियो । रोपिएका बिरुवा मध्ये ४५०० बिरुवा हुर्किरहेको केसीको भनाइ छ ।

यसैविच वृक्षारोपण कार्यक्रमको अवसरमा वन संरक्षणमा योगदान पुर्याएको भन्दै जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ । छत्रेश्वरी ४ का जेष्ठ नागरिक रुपलाल खड्कालाइ गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले एक जोडा दौरा, सुरुवाल र एक थान झुल प्रदान गर्दै दोसल्ला र टीका अविरले सम्मान गरेका हुन् ।