बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भर पर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि बिशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने नीति लिएको बताए । यसका लागि चालु आर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानीय तहलाई १५ बेडको अस्पताल सञ्चालन गर्न निकै अप्ठ्यारो भएको गुनासो आफू समक्ष आउन थालेको बताए ।











