नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए अझै धेरै मानिसको ज्यान जान सक्ने स्मरण गराएका छन्। लमजुङमा सोमबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

Open photo

सत्ता गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले लगातार प्रतिगमनमा लैजाने एमालेको निर्णयलाई परास्त गर्न गठबन्धन बनेको दाबी गरे।

‘तत्काल त्यो प्रतिगामी प्रवृत्ति पराजित भएको छ। हामीले प्रतिवाद नगरेको भए देश अँध्यारो सुरुङतिर जाने थियो’, नले भने, ‘नेपालको आधुनिक इतिहासमा १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता एक नयाँ अध्याय हो। हामीलाई भनिन्छ झण्डै १७ हजारको ज्यान गयो, ठूलो पीडा भयो। त्यो पीडाबाट निस्किन हामीले सम्झौता गरेका हौँ।’

Open photo

उनले त्यसबेला कांग्रेस र माओवादी आमनेसामने भएर युद्ध भएको बताउँदै भिडन्त गरेकै पक्षबीचमा शान्ति सम्झौता गरेको पनि उल्लेख गरे।

‘यदि शान्ति सम्झौता नगरेको भए ५० हजार होइन लाख पनि मान्छे मर्थे’, उनले भने, ‘त्यसबेलै नेपाल असफल राष्ट्र हुन्थ्यो। नेपालमा विदेशी सेना आउन सक्थ्यो। गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो। नेपाल विदेशी सेना आएर अफगानिस्तान हुनबाट जोगियो।’

उनले गिरिजाप्रसाद कोइराला परिवर्तन र गणतन्त्रका नायक भएको बताए। ‘मलाई पनि अहिले पार्टीका साथीहरुले सर्वमान्य र नायकका रुपमा लिन्छन्’, उनले भने, ‘कांग्रेस र माओवादीका हजारौँ कार्यकर्ताको साहदत नभएको भए यो सम्झौता हुने थिएन।’

उनले गिरिजाप्रसादलाई शान्ति नायकको उपमा दिइरहँदा आफूलाई क्रान्ति नायकका रुपमा प्रस्तुत गरेका छन्। ‘शान्ति सम्झौता भएदेखि नै हामीले एकअर्काका चुनाव चिह्नमा भोट हालिसकेका थियौँ’, उनले भने, ‘परिवर्तन ल्याउँदा थुप्रै कांग्रेस कार्यकर्ता मरेका छन्, माओवादीका पनि मरेका छन्। क्रान्ति नायक र शान्ति नायक मिलेर यो सम्भव भएको हो।’

उनले अब पनि कांग्रेस कार्यकर्ताले माओवादीको चिह्नमा र माओवादीका कार्यकर्ताले कांग्रेसलाई भोट दिन अफ्ठेरो मान्न नहुने तर्क गरेका छन्।

No description available.