पोखरा । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफूले देशकै नेतृत्व गर्ने सम्भावना बढेको बताएका छन् । क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्न घैरुङ पुगेका उनले प्रधानमन्त्री आफै बन्ने सम्भावना रहेको बताएका हुन् ।

‘मैले देशकै नेतृत्व सम्हाल्ने सम्भावना पनि छ । त्यसो भयो भने म आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट गर्नेछु,’ उनले भने, ‘त्यस्तो अवसर आयो भने त्यो गोरखाका लागि ऐतिहासिक अवसर हुनेछ ।’

चितवन र देशभरिको विकास र समृद्धि आफ्नो उत्तिकै जिम्मेवारी भएको भन्दै प्रचण्डले गोरखाबाट उदाहरण प्रस्तुत गर्ने प्रतिबद्धता जनाए । गिरिजाप्रसाद कोइरालासँग मिलेर आफूले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए देशमा अझै भयावह अवस्था रहने भन्दै उनले कांग्रेस र माओवादीको गठबन्धन पहिले नै भैसकेको दोहोर्याए ।

‘मैले गिरिजाबाबुतिर फर्केर जयनेपाल भनेको हुँ । उहाँले मतिर फर्केर लालसलाम भन्नु भएको हो,’ प्रचण्ड अघि भन्छन्, ‘उहाँले हँसिया हथौडामा छाप त्यही दिनमा लगाइदिनु भएको हो । मैले बडो गर्व र खुसीका साथ रुखमा छाप त्यही दिनमा हानेकै हुँ ।’

यो गठबन्धनले कांग्रेसले माओवादीलाई राम्रो देख्न थालेको र माओवादीले कांग्रेसलाई राम्रो देख्न थालेको उनको तर्क छ । ‘यो गठबन्धनको अर्को मनोवैज्ञानिक महत्त्व पनि छ । यो गठबन्धनले बिस्तारै माओवादीलाई कांग्रेसका नेता कार्यकर्ता राम्रो लाग्न थालेको छ ।

कांग्रेसलाई पनि माओवादीका नेता कार्यकर्ता राम्रो लाग्न थालेको छ’, उनले भने, ‘यो पनि सकारात्मक विकासको अर्को आयाम हो ।’ प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्नु आफ्नो सपना रहेको प्रस्ट्याएका छन् ।No description available.