नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओली अब नसुध्रिने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले स्थानीय चुनावमा प्रतिगामीलाई जसरी पराजित गरियो त्यसलाई पूर्ण बनाउन आउने चुनावमा पनि उनीहरूलाई पराजित गर्नुको विकल्प नभएको जनाए ।

ओली हिटलर बन्न खोजेको उनको आरोप थियो ।एमाले अध्यक्ष ओली अब नसुध्रिने उनको दाबी थियो । ‘लाज लाग्दैन ? काम गर्न दिएनन् भनेर रूँदै हिँडेर हुन्छ,’ उनले भने, ‘बरु कमरेड घनश्याम भुसालले बोल्नुभएको भए कस्तो सुनिन्थ्यो, केपी ओली सुध्रनेवाला छैनन् ।

नेता घनश्याम भुसालतर्फ इंगित गर्दै नेपालले भने –‘उहाँले ओलीलाई धुन्छु भन्नुभएको थियो, साबुनपानीले धुँदाधुँदै पाखा लाग्नुपर्‍यो ।’ओलीले सरकारको नेतृत्व गर्दा आफूले भने वा माओवादी अध्यक्ष प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टिनु परेको नेता नेपालले बताए ।