इन्द्रेणी संवाददाता
दाङ, ७ साउन । पछिल्लो समयमा दाङ लागुऔषध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि दाङको प्रहरीले सक्रियता समेत बढाएको छ ।

11 copyप्रहरीले जिल्लामा लागुऔषध कारोवार एवं अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि अभियाननै चलाएपछि दैनिकजासो जिल्लाका विभिन्न ठाउँबाट लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ गर्न थालेका छन् ।

बुधवार मात्रै दाङ प्रहरीले दुई जनालाई झण्डै १० किलो चरेशसहित नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ्ग होटलमा लागुऔषधको कारोवार भइरहेको गोप्पे सूचना पाएको प्रहरीले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षका सुदीप सिंजाली मगरलाई ९ किलो ९३० ग्राम चरेशसहित नियन्त्रणमा लिएको हो ।

222 copyहोटलको माथिल्लो तलामा चरेशको कारोवार गर्दै गर्दा सुदीपलाई नियन्त्रणमा लिएपछि उनकै प्रारम्भिक बगानका आधारमा वाग्लुङ जिल्ला बरिगाड गाउँपालिका २ स्थायी ठेगाना भएका ३० वर्षका रमबहादुर भुजेललाई पनि लमही बजारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।

उनीहरुलाई त्यहाँ प्रतिकिलो ४० हजारमा खरिद गरेर प्रतिकिलो ७० देखि ८० हजारमा विक्री गर्न लागेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मगर र भुजेललाई विहीबार प्रहरीले सार्वजनिक समेत गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए ।

कसरी बन्दैछ दाङ लागुऔषधको ट्रान्जिट प्वाइन्ट
दाङ भारतसँग सीमा जोडिएको जिल्ला हो । र पहाडी जिल्लाहरुसँग पनि सीमा जोडिएको जिल्ला हो । विशेष गरी गाँजा, चरेशजस्ता लागुऔषध पहाडी जिल्लामा उत्पादन हुने र त्यहाँबाट भारतलगायत अन्य जिल्लामा विक्री गर्नका लागि दाङ ल्याउने गरिएको प्रहरीको अनुमान छ ।

Untitled-1 copyत्यति मात्रै होइन दाङलाई लागुऔषध कारोवारीहरुले ‘सेफ ल्यण्ड’को रुपमा पनि प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले बताए । ‘दाङलाई लागुऔषध कारोवारीहरुले सेफ ल्यण्डको रुपमा पनि प्रयोग गरिरहेको देखिन्छ’, उनले भने, ‘यहाँबाट भारतलगायत नेपालकै अन्य जिल्लामा पनि यसको कारोवार गर्ने गरेको देखिन्छ ।’

यसरी दाङ लागुऔषध एवं अन्य अबैध कारोवारको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ । दैनिकजसो जिल्लाका विभिन्न ठाउँबाट ब्राउनसुगर, चरेश, खैरो हेरोइन, प्रतिबन्धित बन्यजन्तु बाघ र रेड पाण्डाका छालासहित व्यक्तिहरु पक्राउ परिरहेका छन् । एक सातामा मात्रै जिल्लामा दुई वटा रेडपाण्डाको छालासहित ३ जना, बाघको छालासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।