माधवकुमार ओली
रोल्पा, २६ साउन । दशवर्षे जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको तिलामा युद्ध संग्रहालय बनाइने भएको छ । राष्ट्रिय संग्रहालयको नाम दिइएको उक्त संग्रहालय देशमै पहिलोपटक रोल्पामा बनाउन लागिएको हो ।
जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिलामा तत्कालीन शान्ति प्रक्रियाको क्रममा पूर्व माओवादी लडाकुहरूको क्यान्टोन्मेन्ट रहेको ठाउँमा अहिले युद्ध संग्रहालय बनाउन लागिएको हो । गत आर्थिक वर्षमा संघीय सरकारको ५० लाख र प्रदेश ५ सरकारको ४० लाख रुपैयाँ बजेटबाट युद्ध संग्रहालयका लागि ‘स्ट्याचु’सहितको गेट, सूचना केन्द्र र सभाहल निर्माण गरिएको छ ।
यस्तै संग्रहालयसम्म पुग्न सिढी निर्माणका साथै तारबार गरिएको छ । उक्त गेटको हालै ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका थिए ।
संग्रहालयमा तत्कालीन युद्धमा प्रयोग भएका विभिन्न सामग्री तथा युद्ध झल्काउने सामग्री राखिने भएको छ । संग्रहालय बनेपछि यस क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्तीले बताए । ‘यो संग्रहालय बनेपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने भएकाले व्यापारिक केन्द्र बन्छ,’ उनले भने ‘यहाँ होटेल व्यवसाय सञ्चालन भएपछि स्थानीयलाई रोजगारी पनि मिल्ने अपेक्षा गरिएको छ ।’











