उदय बीसी
दाङ, २६ असोज । दाङका एक युवाले व्यवसायीक रुपमा फुल खेती गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ झिंग्रौराका लोकेन्द्र रोकामगरले व्यवसायीक रुपमा सयपत्री फुलखेती गरेका हुन् ।
रोजगारी खोज्दै झण्डै सात वर्ष कतारमा विताएका रोकाले जिल्लामा दशै तिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फुलको माग देखेपछि उनले स्थानीयको करीव १२ कट्टा जग्गा भाडामा लिएर ‘जलजला पुष्प खेती’ नाम दिएर सयपत्री फुलको व्यवसायीक खेती गरेका हुन् । ‘दाङमा व्यवसायीकरुपमा फुल खेती कतै थिएन, काठमाडौंतिर फुल खेती पनि व्यवसायीक रुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ’ , उनले भने ।
अहिले वार्षिक ४८ हजार रुपैयाँ जग्गा भाडामा लिएर भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फुलको व्यवसायीक खेती गरेको उनले बताए । जिल्लाको सबैभन्दा ठूलो घोराही बजार नजिकै फुलखेती गरेपछि आफ्लाई बजारका लागि समस्या नभएको रोकाले बताउछन् । ‘दैनिकजसो फुलको अडर आएकै छ, उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या छैन’, उनले भने, ‘बरु माग भन्दा उत्पादन नै कम छ ।’
पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरेपनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महिना फुल उत्पादन गर्ने बताए । गत वर्ष करीव २७ कट्टामा सयपत्रीको व्यवसायीक खेती गरेका उनले १ लाख चोखो आम्दानी गरेको बताए । यस वर्ष प्राविधिक कमजोरीका कारण फुल खेतीमा केही रोग लागे पनि आम्दानी राम्रै हुने उनको अपेक्षा छ । तिहार नजिकिदै गर्दा सयपत्रीको माग अत्यधिक वढेको रोकाको भनाइ छ ।
विशेष गरी आफूले उत्पादन गरेको सयपत्री जिल्लाभित्रै खपत हुने र अन्य जिल्लाहरुबाट समेत माग आउने गरेकाले कैलालीसम्म पनि आफूले फूल पठाउने गरेको बताए । दशै तिहार वाहेकका अन्य समयमा पनि विभिन्न कार्यक्रम, विवाह, पूजालगायतका लागि फुल विक्री हुने गरेको छ । अहिले प्रतिसयपत्री माला १ सय रुपैयाँमा विक्री भइरहेको उनले जानकारी दिए ।











