उदय बीसी
दाङ, २६ साउन। दाङको मत्स्यापालन उद्योगमा करीब साढें ८९ करोड रुपैयाँ लगानी भएको छ । जिल्लाको विभिन्न ठाउँमा ७० ओटा मत्स्य उद्योग दर्ता गरेर व्यवसायीक रुपमा माछापालन गरिएको छ ।

pokhariघरेलु तथा साना उद्योग कार्यालय दाङमा गएको आर्थिक वर्ष २०७५/७६ सम्म दर्ता भएका मत्स्यपालन उद्योगमा रू ८९ करोड ४६ लाख १ हजार लगानी भएको छ । त्यसमध्ये सबैभन्दा बढी लगानी जिल्लाको बढी सिंचाइ सुविधा भएको क्षेत्र लमही नगरपालिका क्षेत्रमा भएको छ ।

लमही नगरपालिका क्षेत्रभित्र १६ ओटा मत्स्या उद्योगमा रू २ करोड ७२ लाख २८ हजार लगानी भएको छ । त्यसैगरी, घोराही उपमहानगरपालिका २६ ओटा मत्स्यपालन उद्योगमा रू २ करोड ६६ लाख ३० हजार, तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका १४ ओटा मत्स्य उद्योगमा रू १ करोड ९५ लाख ४३ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत वामदेव शर्माले जानकारी दिए ।

त्यस्तै राप्ती गाउँपालिकाका ४ ओटा मत्स्य उद्योगमा रू ६९ लाख र गढवा गाउँपालिकामा १० ओटा मत्स्य उद्योगमा रू ९४ लाख ३० हजार लगानी भएको छ ।मत्स्यपालनका लागि दाङ अत्यन्त सम्भावित जिल्ला भएकाले वर्षेनी यो व्यवसायमा किसानहरुको आकर्षण बढ्दै गएको अधिकृत शर्माले बताए ।

‘दाङको कृषि क्षेत्रमा एउटा राम्रो सम्भावना भनेको व्यवसायिक माछापालन क्षेत्र पनि हो’, उनले भने, ‘यसमा व्यवसायीहरुको आकर्षण बढ्दो छ ।’ गएको आर्थिक वर्षमा मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा १३ ओटा मत्स्य उद्योग दर्ता भएका थिए । यो व्यवसायमा सरकारले लगानी वढाउन सके केही वर्षभित्र दाङ माछामा आत्मनिर्भर बन्ने शर्माको भनाइ छ । अभियान दैनिकबाट