काठमाडौं, १८ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवासमा बनाएका भ्रातृ संगठनको एकताको खाका तयार गरेको छ । पूर्वएमाले र पूर्वमाओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायत ३६ देशमा प्रवासी संगठन बनाएका थिए । त्यसमध्ये ३२ देशमा नेतृत्वको भागबन्डासहित एकीकरण खाका तयार भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवास कमिटीको एकीकरणका लागि श्रेष्ठकै नेतृत्वमा गठित कार्यदलले तत्कालीन एमालेनिकट प्रवासी नेपाली मञ्च र माओवादीनिकट नेपाली जनप्रगतिशील मञ्चबीचको एकता प्रस्ताव सचिवालयमा बुझाउने तयारी गरेको छ ।
गत २४ साउनमा गठित कार्यदलमा श्रेष्ठसहित पूर्वमाओवादीबाट केन्द्रीय सदस्य युवराज चौलागाईं तथा पूर्वएमालेबाट डा। बिन्दा पाण्डे र युवराज कार्की सदस्य छन् । ‘सबै प्रवास कमिटीको एकीकरण प्रस्ताव तयार भइसक्यो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘सचिवालय बैठकमा तलबाट आएका नामसहितको सिफारिस समेटेर प्रतिवेदन बुझाउने तयारीमा छौँ ।’
एउटा पक्षले संयोजक लिएको देशमा अर्को पक्षले सचिव लिने गरी कार्यदलले भागबन्डा टुंग्याएको छ । एकीकरण टुंग्याउन कार्यदलले ३६ वटै देशमा ४ देखि ६ जनाको अर्को कार्यदल बनाएको थियो । तीमध्ये १५ देशबाट सर्वसम्मत एकता प्रस्ताव आएको कार्यदल सदस्य चौलागाईंले बताए । नयाँ पत्रिकाबाट











