काठमाडौँ, ९ मंसिर । आज परेको महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक भएको बताएकी छन् ।

bidhe vandariदिवसका उपलक्ष्यमा आज जारी शुभकामना सन्देशमा उनले बोक्सीको आरोप, छाउपडी, दाइँजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताएकी छन् ।

राष्ट्रिपति भण्डारीले महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना विज्ञप्तीमा व्यक्त छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ अर्थात आजको दिनलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णयबमोजिम नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।