कञ्चनपुर, १६ कार्तिक। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको आज एक सय दिन पूरा भएको छ । गत १० साउनमा साथीको घर जाने भन्दै हिँडेकी उनको भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

nirmalaप्रहरी अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुले पनि हत्याको सय दिन पूरा हुँदा समेत प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । निर्मलाको परिवार भने सय दिन बित्दासमेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै अनशन बस्ने तयारीमा पुगेको छ ।

निर्मलाका बाबु यज्ञराज पन्तले सरकारले आफ्नी छोरीको हत्यामा संलग्नलाई पक्राउ गर्न सय दिन बित्दासमेत नसकेको भन्दै अनशन बस्ने तयारी गरिएको बताए । ‘निर्मलाको बलात्कारपछि हत्या भएको सय दिन पुग्यो तर सरकारले दोषी पत्ता लगाउन सकेन । अब म जिल्ला प्रशासन कार्यालयअगाडि अनशन बस्छु,’ निर्मलाका बाबु यज्ञराजले भने ।

उनले सरकारले न्याय दिन नसक्ने भनेर भनेका बखत भने आफू चुप बस्नेसमेत जानकारी दिए आजको राजधानीमा खबर छ ।
‘सरकारले हत्यारा पत्ता लगाउन सकिएन । अब सक्दैनांै भनोस् । हामी चुपचाप बस्छौं । हामीलाई अहिले पनि न्यायको आस मरेको छैन,’ उनले थपे ।

उनले सरकारले हत्यामा संलग्न पत्ता लगाउनुको साटो उल्टै पैसाको प्रलोभन देखाएको समेत जनाए । निर्मलाका बाबु यज्ञराज पन्तले सरकारले आफ्नी छोरीको बलात्कार तथा हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्नु दुखद् भएको भन्दै दोषी पत्ता लगाउनुको साटो सरकारका तर्फबाट पैसाको प्रलोभन आएको बताए ।

उनले कञ्चनपुरका सहायक सीडीओ शंकर विष्टले आफूलाई दसैंअगावै सरकारबाट मृतकका लागि निर्णय भएको पैसा प्राप्त भएकाले लिन बोलाइएको बताए । ‘सहायक सीडिओ सरले दसैंअघि नै मलाई फोन गरेर पैसा लिन बोलाउनुभयो । मैले पैसा चाहिन्नँ, छोरीको हत्यामा संलग्न व्यक्ति चाहिएको हो भनेर लिन गइनँ,’ निर्मलाका बाबु विष्टले राजधानीसँग भने ।

सोही विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विष्टले आफूले पैसाको प्रलोभन देखाएर निर्मला परिवारमा फोन नगरेको तर सरकारबाट निर्णय भएको रकम जिल्लामा प्राप्त भयो भनेर जानकारी दिएको जनाए ।

‘मैले पैसा लिन आइहाल्नोस्, लगिहाल्नोस् भनेर फोन गरेको छैन । सरकारले मृतकका नाममा घोषणा गरेको क्षतिपूर्ति रकम जिल्लामा प्राप्त भयो भनेर फोनमार्फत जानकारी दिएको मात्र हुँ,’ सहायक प्रमुख जिल्ला अधिकारी विष्टले भने ।

सरकारले निर्मला हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय तहबाटै छानबिन समिति बनाएर विभिन्न चरणमा छानबिनसमेत गरिसकेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो । यस्तै, प्रहरी प्रधान कार्यालयले समेत हत्या अनुसन्धानका लागि भन्दै विभिन्न समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

तर ती अनुसन्धान समितिले पटक पटकको स्थलगत अनुगमन तथा स्थानीयसँगको छलफलका क्रममा प्रहरीबाटै अनुसन्धानमा लापरबाही भएको र प्रमाण मेटाइएको निष्कर्ष निकालेका छन् । सोही निष्कर्षका आधारमा गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापासमक्ष अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

सो प्रतिवेदनमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले निर्मला हत्यापछिको सुरुकै अनुसन्धानका चरणहरुमा लापर्बाही गरेको भनिएको छ । यस्तै, प्रहरी प्रधान कार्यालयले समेत कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखले घटनामा लापर्बाही गरेको भन्दै तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सुझाव दिएको थियो ।

प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृह मन्त्रालयले २९ असोजमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट बर्खास्त गरिसकेको छ । यस्तै, अनुसन्धानमा गल्ती गर्ने केही प्रहरी अधिकारी निलम्बनमा छन् ।

अनुसन्धानकै क्रममा प्रहरीले हालसम्म ९ जनाको डीएनए परीक्षणसमेत गरिसकेको छ । तर, परीक्षणका लागि नमुना लिइएकाहरु कसैको पनि नमुना म्याच भएको छैन । प्रहरीले बुधबार मात्रै थप चार जनाको डीएनए परीक्षणका नमुना लिएर केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । तर, पछिल्लोपटक ककसको नमुना लिइयो भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै राजधानीसँग भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं । सबै पाटोबाट थप अनुसन्धानसमेत भइरहेको छ । लिइएका डीएनए नमुना काठमाडौं पठाएका छौं ।’

यसअघि प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्ट, भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिप विष्ट र भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका चक्रदेव बडूको समेत डीएनए परीक्षण गरेको थियो । रगत परीक्षण गर्ने क्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग कसैको पनि नमुना हालसम्म मिलेको छैन ।