काठमाडौं, २८ जेठ । सरकारले नेपालस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक मामिला विभाग (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।शान्ति प्रक्रिया सम्पन्न भइसकेको र मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढेकाले अब सो कार्यालयको सान्दर्भिकता र औचित्य नरहेको सरकारले निष्कर्ष निकालेको छ ।
सो विभागको कार्यालय तीन महिनामा हटाउनुपर्ने समयसीमा दिएर सरकारले राष्ट्रसंघीय मुख्यालयलाई पनि पत्राचार गरिसकेको छ । २०६३ सालमा शान्ति प्रक्रियाको अनुगमनका लागि सरकारको निमन्त्रणामा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) आएको थियो ।
तर, माधवकुमार नेपाल नेतृत्वको सरकारले अनमिनको औचित्य समाप्त भएको भन्दै २०६७ सालमा हटाउने निर्णय गरेको थियो । अनमिन फिर्ता गइसकेपछि पनि शान्ति प्रक्रियामा सघाउन राष्ट्रसंघीय राजनीतिक मामिला विभागको कार्यालय राखेको थियो ।
अब शान्ति प्रक्रिया सम्पन्न भइसकेको, निर्वाचनमार्फत तीनै चरणमा स्थिर सरकार गठन भएको भन्दै सो कार्यालयको औचित्य नभएकाले हटाउने निर्णय भएको परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।











