दाङ, २८ जेठ । आफूहरुको गाँस नै हराउने गरी अत्याधिक ढुङ्गा बालुवा उत्खनन कार्य भइरहेको भन्दै तत्काल रोक्न दाङका किसानहरुले माग गरेका छन् । पुर्खौदेखि जोतभोग गर्दै जीविका चलाउँदै आएका दाङ हरपौरी लगायतका किसानहरुले खेत नजिक ग्वारखोलामा भइरहेको ढुङ्गा बालुवा उत्खनन् कार्य तत्काल रोक्न माग गर्दै आइतवार डेलिगेसनसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
तुलसीपुर १२ मा पर्ने हरपौरी, रझेनी, बासबोट र हरिपौराको गनार खेत नजिक ग्वारखोलामा स्काभेटर लगाई ढुङगा बालुवा उत्खनन कार्य भइरहेकाले तुलसीपुर उपमहानगरपालिका, प्रहरी प्रशासनसँग उत्खनन कार्य रोक्का गरिदिन माग गरेका हुन् ।
त्यस क्षेत्रमा ढुङ्गा बालुवा उत्खनन हुँदा सयौं बिगाहा खेतीयोग्य जग्गालाई वाढीले नोक्सानी पुर्याउने सम्भावना भएकाले उक्त उत्खनन कार्य तत्काल रोक्का गरिदिन तुलसीपुर उपमहानगरपालिकासँग आग्रह गरेपछि प्रशासनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा नदी जन्य पदार्थ उत्खनन रोक्का गरिएको सम्बन्धमा पत्र पठाएको छ ।
यसअघि ४ दिनसम्म ढुङ्गा बालुवा उत्खनन् कार्य रोक्न फिल्डमा जादा उल्टै ठेकदारहरुले हातपात गर्दै अटेर गरिरहेको, प्रहरीसँग सहयोग माग्दा पनि सुनुवाई नभएको भन्दै किसानहरुले डेलिगेसन दिइराखेपछि तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङका सरोकारवाला सबैमा उत्खनन कार्य रोक्का गरिदिन अनुरोध गरिएको पत्र पठाएका छन् ।











