काठमाडौं,२५ जेठ । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) र अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरिने भएको छ ।गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा र दुबै मन्त्रालयका पदधिकारीको संयुक्त बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष निकाल्दै यसको नियमनलाई कडा बनाउने निर्णय गरेको हो ।

विद्यमान नियमन प्रणालीमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत त्यस्ता संस्थाको गतिविधि नियमन गरी रिपोर्टिङ पठाउन लगाउने निर्णय बैठकले गरेको छ ।

बैठकले एनजिओ र आईएनजिओका पदाधिकारीहरुको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाई पूवर्क लागु गर्ने निर्णय गरेको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ ।

हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता भएपनि धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नविकरण गरेका छैनन् । यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरीरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकमा महिला बेचविखन रोक्नका लागि दुबै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपमा लगायतका क्षेत्रमा रहेको भवन तथा जग्गामा वर्षौदेखि बसेका केही व्यवसायी एवम् संघसंस्थाले भाडा बापतको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेहरुलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ । एभरेष्ट दैनिकमा खबर छ ।

अमेरीका तथा छिमेकी भारत र चिनमा समेत एनजिओ र आईएनजिओका गतिविधिमाथि अंकुश लगाईपनि नेपालमा भने यस्ता संघसस्था मौलाउँदै गएको छ ।