हुम्ला, २ जेठ । अन्दाजी बिहान ७ बजेको हनुपर्छ । म हर्क रावलसहित ३ जना अरु गाउँकै साथी थियौँ । भेडाबाख्रा लिएर बाजुराको सिमानामा पर्ने लाम्पाटाबाट खरीखानी मालिक लेक काटेर आउँदै थियौं । हवाइजहाजको आवाज केही सुनेनौँ । दुर्घटना हुँदा लेकमा कुहिरो अत्यधिक थियो । लेक काटेर एक्ला भुज भन्ने ठाउँमा पुग्दा जहाज ३ टुक्रा भएको अवस्थामा देख्यौँ । कुहिरोले छोडयो । एक्लाभुज चौरमा पुग्दा जहाजका सामान देख्यौँ । दुवै पाइलटको ज्यान गैसकेको थियो । सामानहरु छरिएका थिए ।

humlaचाउचाउ बिस्कुट यत्रतत्र्र छरिएको देखेँ । नजिकै गयौँ । के गर्ने के नगर्ने दोधारमा परेँ । नजिक कोही पनि थिएनन् । वामनखर्कका गोठालालाई खबर गर्ने बारेमा सोच्यौँ । तलमाथि कोही थिएनन् । सबैभन्दा पहिले छत्तदाइलाई खबर गरेँ । मोबाइलमा माननीय छक्कबहादुर लामाको नम्बर खोजेँ । फोन लाग्यो । सायद त्यतिबेला ९ बजेको हुनुपर्छ । ’

मकालु एयरको बुधबार बिहान भएको दुर्घटनाबारे सबैभन्दा पहिले जानकारी दिने गोठाला हुन् खापुनाथ गाउँपालिका –२, थालीका लामा रावल । उनले उज्यालोसँग फोनमा कुरा गर्दै घटनाका बारेका बताए । सम्पर्कविहीन भएकोे जहाज २ घण्टाभन्दा बढी समय बित्दासमेत सम्पर्कमा नआएपछि पत्ता लगाउन सिमकोट विमानस्थलबाट माउन्टेन एयरको हेलिकप्टरले बाजुरा तथा हुम्लाका सबै सेक्टरमा खोजी गरे पनि पत्ता लगाउन मुश्किल भइरहेको थियो ।

तर माननीय छक्कबहादुर लामाले प्रमुख जिल्ला अधिकारीलाई लोकेशन बताएपछि उद्धारको हेलिकप्टरले फेला पारेको थियो । स्थानीयवासीले पनि कुनै आवाज सुन्न पाएनन् । ‘लेकमा कोही पनि नभएकाले दुर्घटनाबारे पत्ता लगाउन सकिएन । दुर्घटनास्थलको अवस्था देख्दा जहाजमा इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गर्न खोजिएको जस्तो छ’, उद्धारका लागि एक्ला भुज पुगेका छत्त रावलले बताए ।

मकालु एयरको जहाज ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर उडेको थियो । नाइन एन एजे यु कल साइन भएको विमानका चालक किरण भट्टराई सहचालक आदित्य नेपालीेको ज्यान गएको छ । चालकदल मात्र रहेको विमानमा भएका दुवैजनाको मृत्यु भएको हो । जहाज १२ हजार ८ सय फीट उचाइमा रहेको एक्ला भुजको चौरमा आकस्मिक अवतरण गर्ने क्रममा भाँचिएको अवस्थामा देखिएको छ ।

२०७३ साल साउन १० गते त्यही कम्पनीको जहाज हुम्लाकै खापुनाथ कर्णालीमा ल्याण्ड गरेर पाइलट सांगे लामा र सहचालक प्रशान्त शाहले ज्यान जोगाएका थिए । त्यतिबेला जहाज भने नदीमा फलिएको थियो । उज्ज्यालोमा खबर छ ।