काठमाडौं, १६ साउन । पाँच दिन अघि राजधानीको एक स्कुलबाट अपहरणमा परेका ५ वर्षे वालक विशाल चौधरीको आज विहान मात्रै प्रहरीले सकुशल उद्धार गरेको छ । बालकको उद्धारसँगै घटनाका रहस्यहरु पनि खुल्दै गएका छन् ।
बालकको अपहरण आफन्त अथवा चिनेजानेको नजिककै व्यक्तिबाटै भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । अपहरण गर्ने व्यक्तिले अपरहरणको दोस्रो दिन ५० लाख फिरौती पनि माग गरेको प्रहरीले बताएको छ ।
काठमाडैंको क्षेत्रपाटीस्थित स्कुलबाट अपहरित ५ वर्षीय बालक विशालको सोमबार विहान भक्तपुरको काँडाघारीबाट उद्धार गरिएको हो । ती बालकलाई स्कुलको गेटबाट एक अपरिचित व्यक्तिले मोटरसाइकलमा लगेको भिडियो फुटेज प्रहरीले हात पारेको थियो ।
काँडाघारीको एउटा घरमा रहेका विशाललाई उद्धार गर्दा प्रहरीले उनीसँगै रहेका एक कुरुवा व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । त्यही कुरुवा व्यक्तिले दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले यो घटनाको रहस्य पत्ता लगाउने प्रयास गरिरहेको छ । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट घटना आफन्ततिरै सोझिएको प्रहरीको दावी छ ।











