दाङ, १३ असार ।  दाङमा एकजना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दाङ देउखुरीको राप्ती गाउँपालिका स्थित ज्ञानदयो मावि केन्द्रका मतदान अधिकृत दत्तराय अधिकारीलाई निर्वाचन आचरण विपरित गतिविधी गरेको पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

सोमवार दिउँसो मदिरा सेवन गरि मातेर मतदान केन्द्रमा गएका मतदान अधिकृत अधिकारीले मतपत्र लिनका लागि गएका सर्वसाधरणलाई अभद्र व्यवहार तथा गालि गलौज गरेको हुँदा आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिनु परेको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

निर्वाचन गराउनका लागि खटिएका निर्वाचन अधिकृतले नै निर्वाचन आचार संहिता विपरितका गतिविधी गरेको पाइएपछि जनगुनासोको आधारमा नियन्त्रणमा लिनु परेको एसपी सिंहले जानकारी दिए ।

निर्वाचन आचार संहिता विपरितका कृयाकलाप गरेका निर्वाचन अधिकृत अधिकारीको ठाउँमा अर्काे निर्वाचन अधिकारी खटाउनका लागि मुख्य निर्वाचन अधिकारी समक्ष सिफारिस गरिएको पनि एसपी सिंहले जानकारी दिएका छन् ।