लमजुङ, २९ भदौ । लमजुङको भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरू गरेको छ । नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले मङ्गलवार विद्युत्गृहको दुईओटै टर्वाइनबाट परीक्षण उत्पादन शुरू गरेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।
आयोजनाअन्तर्गत विभिन्न भागको परीक्षण गत सातादेखि नै शुरू भएको थियो । अधिकारीका अनुसार आयोजनास्थल भुलभुलेको ११ केभी प्रसारणलाइनबाट मध्य मर्स्याङ्दी ११ केभी प्रसारण लाइनमा मङ्गलवार एकसाथ परीक्षण गरिएको छ ।
प्राधिकरणका प्राविधिकहरूको विशेष उपस्थितिमा चार्ज चेकसमेत गरिएको र प्राधिकरणले अनुमति दिएमा यसै सातादेखि विद्युत् उत्पादन थालिने अधिकारीले बताए । दुईओटै टर्वाइन २५र२५ मेगावाट क्षमताको रहेको छ । कार्यतालिकामा कुनै परिवर्तन नभए असोज १० गते आयोजनाको औपचारिक उद्घाटनको तयारी छ । आयोजना निर्माणका लागि करीब १२ अर्ब रुपैयाँ खर्च अनुमान गरिए पनि नाकाबन्दी तथा विभिन्न आन्दोलनका कारण २ अर्ब बढेर १४ अर्ब रुपैयाँ खर्च भएको छ ।











